Breaking

हाम्रा विपक्षी आक्रामक छन्, हामी अलमलमा छौँ : ज्ञानेन्द्र कार्की


काठमाडौँ – नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीले विपक्षीहरू आक्रामक भए पनि नेपाली कांग्रेस अलमलमा रहेको टिप्पणी गरेका छन् । शुुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कार्कीले पार्टीको अहिलेको अवस्था के हो रु भनेर बुझ्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताए ।

उनले कांग्रेसको सभापति व्यक्ति नभएर संस्था भएको भन्दै सभापतिलाई कमजोर बनाउने मानसिकता कसैको भए आजैका मितिबाट त्यो मानसिकता त्याग्नुपर्ने बताए ।

‘म अहिले नाम लिन चाहन्नँ , तर हाम्रा विपक्षीहरू निकै आक्रामक ढङ्गले मैदानमा ओर्लेका छन् । हामी अलमलमा छौ’, उनले यस्तो अलमलले उल्टो बाटो हिँडिरहेको हो कि भन्ने चिन्ता र चासो सर्वत्र रहेको बताए ।

‘हामी उल्टो बाटो नहिँडौं, हामी सुल्टो बाटो हिँडौ । अहिलेको प्रतिकूलता र चुनौती के हुन् तिनलाई कसरी अवसरमा बदलेर कांग्रेसलाई एक ढिक्का बनाएर पुनर्जागरण गर्न सक्छौ त्यसबारे यो बैठक निष्कर्षमा पुग्छ भन्नेमा म विश्वस्त छु’, कार्कीको भनाई छ ।

उनले प्रतिकूलता र चुनौती बिर्सेर हिँडेमा काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर ,जस्तै हुने बताए । उनले अहिले पार्टीको नेता र संसदीय दलको नेता बदल्ने समय नभएको भन्दै यदि त्यसमा कसैको साँच भए आजैबाट त्याग्न आग्रह गरे ।