Breaking

नारायणकाजी फकाउँदै बालेन, खोजे फोहोरमा गृहको सहयोग, फोहोर विसर्जन सहमतिमा कि बल प्रयोग ?


काठमाडौँ — काठमाडौं महानगरपालिकाको प्रमुख समस्यामध्ये फोहोर व्यवस्थापन थप जटिल बन्दै छ । बेलाबेला ल्याण्डफिल साईड बञ्चरे डाँडाबासीले फोहोर बिसर्जनमा बाधा अवरोध गर्दा महानगरलाई यो विषय टाउको दुखाई बनिरहेको छ । पटक–पटक सहमति हुने तर कार्यान्वयनमा समस्या हँदा फोहोर व्यवस्थापन गर्न हरेक वर्ष चुनौती बनिरहेको छ । फोहोर व्यवस्थापनको चुनौती काठमाडौं महानगरपालिकालाई नौलो समस्या होइन ।

यसअघिका वर्षहरुमासमेत ल्याण्डफिल्ड साईडका बासिन्ताको चित्त बुझाउन नसक्दा ठूलै पौठेजोरी खेल्नुपरेको थियो । समस्या समाधानका लागि महानगरपालिका, केन्द्र सरकार र स्थानीय प्रतिनिधिबीच पटक–पटक वार्ताहरु पनि नभएको होइन, तर, यो वर्षसमेत यो समस्याले काठमाडौं महानगरपालिकालाई छाडेन । काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडामा केही दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीयले फोहोर बोक्ने गाडी रोकेर संघर्ष सुरु गरेका छन् ।

प्रभावित स्थानीयबासीले फोहोर बिसर्जनमा अड्चन थापेपछि समस्या सम्बोधन गर्न भन्दै फोहोरबाट फैलिएको दुर्गन्धलाई न्यूनीकरण गर्न सिंहदरबारस्थित बञ्चरेडाँडा वासी र सहरी विकास मन्त्रालयमाबीच भएको वार्तासमेत विफल भएको छ । बुधबार मन्त्रालयमा मन्त्री सीता गुरुङ र स्थानीय जनप्रतिनिधिहरुबीचको वैठकमा काठमाडाँै महानगरपालिकाका प्रतिनिधि सहभागी नहुँदा छलफलले कुनै निष्कर्ष निकाल्न सकेन ।

ल्याण्डफिल साइटबाट १ किलोमिटरसम्म झिँगाहरु फैलन थालेको छ । दुर्गन्ध पनि त्यस्तै छ । खान, बस्नदेखि स्वास्थ्यमा पनि त्यतिक असर देखिन थालेका छन् । आफूहरुको स्वास्थ्यमा गम्भीर खेलवाड भएको भन्दै उनीहरु फेरि सरोकारवाला गुहार्न थालेका छन् । फोहोर विसर्जन गरेपछि माटोले क्यापिङ गर्नु पर्ने भए पनि त्यसै छोडिदिदा त्यसको दुर्गन्धले गाउँ नै चपेटामा पर्न बाध्य छ । अव्यवस्थित फोहोरलाई तत्काल व्यवस्थापन गर्ने सरकारको प्रतिवद्धता छ ।

झिँगा नियन्त्रणलाई नै सरकारले प्राथमिकतामा राखेको छ । फोहोर व्यवस्थापनको लागि सधैँ लडाई गर्ने भन्दा पनि अब एक पटक सम्बोधन गर्न समय दिने मनस्थितिमा स्थानीय छन् । यद्यपि, फोहोर विसर्जन गरेको ठाउँको उचित व्यवस्थापन नगरी फोहोर लान नदिने स्थानीयको अडान छ ।

स्थानीयले आफ्नो अडान कायमै राख्दा यता, महानगरमा भने फेरि यही वर्षाकै समयमा फोहोरको डंगुर हुने अवस्था सिर्जन हुँदै छ । डेंगु रोगका कारण अस्पतालमा विरामीको संख्या बढ्दै जादा महानगरमा फोहोरको डंगुरले अर्काे रोग निम्त्याउने जोखिम छ । तर, महानगर भने स्थानीयसँग सहकार्य गरेरै अघि बढ्ने बताइरहेका छन् ।

विगतमा पनि सुरक्षाकर्मीको सहायतामा फोहोर बिसर्जन गर्दै आएको महानगरलाई फोहोर व्यवस्थापनको दवाव बढ्दो छ । त्यसैले सम्भव भए सहमतिमा नै नभए गृहमन्त्रालयको सहयोगमा महानगरलाई सफा गराउने योजनामा महानगर छ ।

निर्वाचित भएको एक वर्ष बितिसक्दा काठमाडौँका मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने भने पनि एक वर्षसम्म उनको ठोस विधि र योजनाले सार्थकता पाउन सकेको छैन । फोहोर व्यवस्थापनका लागि महानगरले कोशिस नगरेको भने होइन । मेयर बालेन र उपमेयर सुनीता डंगोल पटक पटक आफै साईटमा पुगे । फोहोरको वर्गीकरण स्रोतमा नै गर्ने नियम कार्यान्वयनमा ल्याउन मेयर बालेन आफै टोलटोलमा पर्चा बाड्दै हिडे ।

प्रत्येक मन्त्रीको ढोका ढक्ढक्याएको बालेनले केही सीप नलागेपछि सिंहदरबार र शितल निवासको फोहोर उठाउनमा नै रोकिदिए । तर, उनको चुनौतीमा सर्वाेच्च बाधक बनेपछि बालेन पछि हट्न बाध्य बन्यो । जसका कारण केन्द्रसँग चिढीएको मेयर प्रधानमन्त्रीले बोलाएको बैठकमा नै अनुपस्थित हुने गरेका छन् भने मन्त्रीलाई पनि बेवास्था गरिरहेका छन् । महानगरले गरेका राम्रो कामबाट चौतर्फी वाहवाही बटुलिरहेको मेयर बालेन फोहोर व्यवस्थापनमा भने नमज्जासँग चुक्न पुगेका छन् ।