Breaking

शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत गर्‍यो: प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीवनसङ्गिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरूलाई पीडाबाट निस्कन मद्दत गरेको बताएका छन् । पत्नी सीताको निधन भएको सातौँ दिनको सन्दर्भ पारेर प्रधानमन्त्री निवास बालुवाटारमा आज मङ्गलवार आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले सबै पक्षको सहानुभूतिबाट देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको आफूलाई महसुस गरेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले छोरा र छोरी गुमाउँदाको पीडामा पनि शरीरले साथ दिएसम्म पत्नी सीता दृढतापूर्वक उभिएको स्मरण समेत गरे। उनले राज्यबाट कुनै सुविधा नलिई उपलब्ध र लाभदायी हुनसक्ने सबै खाले पद्धतिबाट उपचारको प्रयास गरिएको बताउनुभयो ।

‘सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो, अन्तिम अवस्थामा आईसीयू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि डर पनि थियो, तर बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्’, प्रधानमन्त्रीको भनाई थियो । अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली त्याग, तपस्या र बलिदानप्रति नागरिकको न्याय र सम्मान हो भन्ने आफूले ठानेको बताए ।