Breaking

नागढुंगा सुरुङमार्गको मुख्य टनेल करिब ४०० मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी


काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुंगा-सिस्नेखोला) सुरुङमार्गको आज अनुगमन गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा. गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गको स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए । निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने उनले बताए ।

मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन् । सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिए ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अनुगमन गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सहितको टोली ।
अबको केही महिनामा रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी छ । आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको उनले बताए ।

सुरुङमार्गको वि।सं २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ २.६८ किलोमिटर छ । यहाँ ९ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् ।

कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको हो । थपिएको समयअनुसार २०८१ सालको असोजसम्ममा सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालन ल्याउन सकिनेछ ।