Breaking

अमेरिका र युरोपमा अत्यधिक गर्मी


काठमाडौँ = अमेरिका र युरोपमा अत्यधिक गर्मी बढेको छ । अमेरिका पछिल्लो १६ दिनयता गर्मीबाट प्रभावित छ । पूरै दक्षिण-पश्चिम अमेरिकाका बासिन्दा गर्मीसँगै तातो हावाबाट प्रभावित भएका छन् ।

गर्मीबाट अमेरिकामा करिब ११ करोड बासिन्दा प्रभावित भएको बीबीसीले जनाएको छ । फ्लोरिडादेखि क्यालिफोर्नियासम्म र अब वाशिङ्टन डिसीमा समेत तातो हावा (लु) बाट प्रभावित भएको बीबीसीले जनाएको छ । अमेरिकाका मौसमविदहरुले तत्काल गर्मी नघट्ने भन्दै सावधानीका उपाय अपनाइराख्न आग्रह गरेका छन् । आगामी एक हप्तासम्म गर्मी कायम रहने पूर्वानुमान गरिएको छ ।

बीबीसीका अनुसार विश्वको सबैभन्दा गर्मी स्थानमध्येको एक क्यालिफोर्नियाको डेथ भ्यालीको तापक्रम ५३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । लासभेगास, नाभादा लगायतका स्थानको अधिकतम तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

गर्मीबाट जोगिन मानिसहरुले घरमा एसीको अत्यधिक प्रयोग गरेकाले अमेरिकाको टेक्सस राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान कायम भएको बीबीसीले जनाएको छ ।

अमेरिकाको छिमेकी देश क्यानडाका अधिकारीहरुका अनुसार अत्यधिक गर्मीका जंगलमा डढेलो लागिरहेको छ । आगोबाट २।५ करोड एकड जंगल क्षेत्र जलिसकेको छ । डढेलोको धुवाँले अमेरिकाको केही भाग ढाकेको छ ।