Breaking

परराष्ट्रमन्त्री साउद आज थाइल्याण्ड जाने


काठमाडौँ – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को विदेशमन्त्रीहरूको ‘रिट्रिट’मा भाग लिन परराष्ट्रमन्त्री एनपी साउद आइतबार थाइल्याण्ड जाँदै छन् ।

मन्त्री साउद दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरवेजको विमानमार्फत बैंकक प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिट सोमबार (जुलाई १७) बैंककमा हुँदैछ । बिम्स्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा रिट्रिट बैठकको आयोजना गरिएको हो । थाइल्याण्ड अहिले बिमस्टेकको अध्यक्ष राष्ट्र हो ।

बैठकमा बिम्स्टेकका सदस्य नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमारका विदेशमन्त्री सहभागी हुनेछन् । रिट्रिट बैठकमा क्षेत्रीय मुद्दाहरूमाथि छलफल हुने बताइएको छ । परराष्ट्रमन्त्री साउद मंगलबार दिउँसो स्वदेश फर्किने छन् ।