Breaking

देउवा र गगनबीच फेरि टकराब, मुडभेडको संकेत देखिएपछि केन्द्रीय समिति वैठक स्थगित


काठमाडौँ — बल्लतल्ल १ वर्षपछि बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई–दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षदेखि बैठक बस्न सकेको थिएन । अहिले फेरि विविध कारण देखाउँदै वैठक एक हप्तापछि अर्थात साउन २ गतेका लागि सारिएको छ । नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई–दुई महिनामा बस्नुपर्ने हो ।

तर, गएको १ वर्षदेखि केन्द्रीय समिति बैठक बस्न सकेको छैन भने संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे कुनै छलफल हुन सकेको छैन । बल्लतल्ल बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठक पनि विविध कारण देखाउँदै १ हप्ता पर सारिएको छ । कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवाका कारण वैठक बस्न नसकेको र त्यसको साईड इफेक्टमा संगठनको कार्ययोजनाहरु बनाउन नसकिएको ईत्तर समूहका नेताहरुको आरोप छ । यसअघि देउवालाई सभापति बनाउन सहयोग गरेका नेताहरुसमेत देउवाको कार्यशैलीप्रति आक्रोश पोख्न थालेका छन् ।

गएको वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म कांग्रेस केन्द्रीय समिति बैठक बसेको थियो । १३ बुँदे निर्णय गर्दै कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिएको थियो । त्यसपश्चात मिति तोक्दै बैठक सार्ने काममा सभापति र पार्टी नेतृत्व लागेको थियो ।नेताहरु आफू अनुकुल समयको पर्खाईमा रहँदा वैठक १ वर्षसम्म प्रभावित हुन पुगेको हो ।पार्टीको विधान विपरित वैठक नडाकिएकोमा ईत्तर समूह सभापति देउवामाथि खनिन थालेका छन् ।

हरेक २ महिनामा बस्नुपर्ने वैठक १ वर्षसम्म पनि बस्न नसकेकोमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरु देउवामाथि दोष थोपरेर उम्कन खोजिरहेका छन् । उनीहरु यहि मौका छोपेर पार्टीको नेतृत्व र संसदीय दलको नेता परिवर्तन गर्ने अस्त्र फ्याँक्नसमेत पछि परेका छैनन् ।

उसो त, नेपाली कांग्रेसभित्र महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माहरु पहिलेदेखि नै कांग्रेसको नेतृत्व परिवर्तनका लागि खटेरै लागेका पात्रहरु हुन् । तर, न त उनीहरुले पार्टीको नेतृत्व परिवर्तन गर्न सके, न त संसदीय दलको नेता नै आफू बन्न सके । १ वर्षको अवधिसम्म केन्द्रीय समिति बैठक बस्न नसकेकोमा सभापति देउवामाथि मात्रै आरोप थोपरिरहेका उनीहरुले दोषको अपनत्व आफूहरुमाथि पनि छ भन्ने हेक्का गरेका छैनन् ।

सभापति र महामन्त्रीहरू बसेर कांग्रेसले बैठकका एजेन्डा तय गर्ने गरेको छ । यस्तोमा नीति अधिवेशनको मिति र स्थान तय गर्ने एजेन्डामाथि पनि कांग्रेसले छलफल गर्ने भनेको छ । २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनले नेतृत्व मात्रै चयन गरेको थियो। ६ महिनाभित्र नीति अधिवेशन गर्ने भने पनि डेढ वर्षसम्म मिति तय हुन सकेको छैन। यस्तो हुनुमा पनि महामन्त्रीसहितका नेताहरुले सभापति देउवामाथि नै दोष थोपरेका छन् ।

बुधबार बस्ने भनिएको केन्द्रीय समिति बैठकको एजेण्डाबारे नेताहरुबीच छलफल हुँदै थियो । देउवा ईत्तरका केही नेताहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँणलाई पार्टीले निलम्बने गर्ने एजेण्डा राख्नुपर्ने अडानमा थिए । तर, सभापति देउवाका विश्वासपात्र भएकै कारण यो विषय एजेण्डा बन्ने सम्भावना थिएन ।

यो कारणले पनि केन्द्रीय समिति वैठक प्रभावित हुन पुगेको कांग्रेस वृत्तमा चर्चा छ । वैठकमार्फत आफू आलोचित हुनुभन्दा बरु पेलेरै अघि बढ्ने रणनीतिमा सभापति देउवा लागिपर्दा कांग्रेसभित्रको भाँडभैलो थप पेचिलो बन्दै छ । अरु कारणले वैठक स्थगित भएको भनिएपनि नेताहरुबीचको लफडाकै कारण अन्तिम अवस्थामा आएर वैठक प्रभावित हुन पुगेको देखिन्छ ।