Breaking

प्रचण्डलाई देउवाको दह्रो साथ, लेखनाथ दाहाल भन्छन्, भ्रष्टाचारी नेता जेल जान्छन्


काठमाडौँ — ६ महिनाअघि प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डलाई सत्ताको रिङ्बाट आउट गर्न पटक–पटक प्रयास भए । आफ्नै काँधमा राखेर प्रधानमन्त्री बनाउन सहयोग गरेको नेकपा एमालेले नै प्रधानमन्त्री प्रचण्डको कुर्सी उखेल्ने कोसिस गर्यो । तर, पटक–पटकको एमालेको प्रयासले प्रधानमन्त्री प्रचण्डको जरोकिलो उखेलिन सकेन । भारतीय नागरिक प्रितम सिंहको नाम लिएर दिएको अभिव्यक्तिलाई अर्को अस्त्र बनाएर सत्ता समिकरण फेरबदल गराउन एमालेको अर्को प्रयास पनि विफल भएको छ ।

गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री बन्दा संसदीय राजनीति गर्न नजानेकै कारण सत्ताबाट च्युत हुनुपरेकोबाट पाठ सिकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले भने संसदीय राजनीतिको परिपक्व खेलाडी हुन् । सत्ताको मरिहत्ते गर्ने ट्याग लागेका कांग्रेस सभापति शेरबहादुर देउवाकोसमेत मुख बन्द गराएर उनी अहिले सत्तासिन छन् । नेकपा एमालेको काँध चढेर सत्ता यात्रा सुरु गरेका प्रधानमन्त्री प्रचण्ड अहिले नेपाली कांग्रेसको साथ पाएर सत्ता टिकाईरहेका छन् । सत्ता यात्राको ६ महिनाको अवधिमा पटक–पटक सरकार ढाल्ने खेल भयो ।

विशेषतः नेकपा एमालेले एकपछि अर्को विषयलाई उछाल्दै संसदमा प्रधानमन्त्रीको राजीनामा माग्ने काम गरिरहेकै छ । तर, एमालेले फालेको पछिल्लो अस्त्रमा समेत प्रधानमन्त्री प्रचण्डले गतिलो झापड प्रस्तुत गरेर आफूलाई स्थापित गराउने कोसिस गरेका छन् । बालुवाटार र सिंहदरबारमा यसअघि पनि २ पटक आफ्नो फोटो टासिसकेको स्मरण गराउँदै उनले आफू केही गर्नका लागि अहिलेको कार्यकाल सम्हालेकोले बताईरहेका छन् ।

उसो त, एमालेले प्रचण्ड नेतृत्वको सरकार ढलाउन कांग्रेसलाई पो मनाउन सकिन्छ कि ? भनेर आफ्ना नेताहरुलाई कांग्रेस नेताहरुसँग भलाकुसारी नगराएको होइन । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर जान आफू तयार रहेको भनेर बुढानिलकण्ठमा बारम्बार ओलीले खबर पठाए । कांग्रेस महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायत प्रयोग गरेर पो सरकार ढाल्न सकिन्छ कि ? भनेर त्यतातिर पनि ध्यान दिए । तर, पटक–पटकको अभ्यासमा एमाले प्रधानमन्त्री प्रचण्डको कुर्सी हल्लाउन असफल भयो, राजीनामाको पछिल्लो अस्त्रसमेत फासफुस हुन पुग्यो ।

आगामि आर्थिक वर्षको बजेट, भारत भ्रमणको विषय होस् या भारतीय नागरिक प्रितम सिंहको नाम लिएर दिएको अभिव्यक्तिमा एमालेले एउटै बटमलाईन राजीनामा बनाउँदै आयो । तर, एमाले यो अडानमा असफल हुन पुग्यो भने प्रधानमन्त्री प्रचण्ड थप बाहुबली बन्दै गए ।

राजीनामाको एजेण्डालाई पुष्टि गर्न असफल एमालेलेविषयको विषयान्तर गर्दै अनावश्यक उछाल्ने काम मात्रै गरिह्यो । एमालेबाटपटक–पटक यस्तै प्रवृत्ति देखिएपछि प्रतिपक्षी कित्तामा रहेका अरु दलहरुसमेत ओलीसँग वाक्कदिक्क हुन थालेका छन् । एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलहरु यो बटमलाईनबाट आउट हुँदा नेकपा एमाले एक्लिन पुग्यो भने प्रधनमन्त्री प्रचण्ड थप सहज बाटोतर्फ अघि बढे ।

उसो त प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसलेअहिलेको अवस्थामा सत्ता परिवर्तनको खेलमा आफूहरु नभएको प्रष्टीकरण दिनुले पनि प्रधानमन्त्री प्रचण्डको कुर्सी थप सुरक्षित देखिन्छ ।प्रधानमन्त्रीको राजीनामा मागेर आफू चाहीँ संसद बैठकबाट भागेको आरोप लगाउँदै नेपाली कांग्रेसका नेताहरु,अनावश्यक बखेडा झिकेर एमाले गैर राजनीतिक क्रियाकलापमा सक्रिय भएको बताउन थालेका छन् ।

आफू प्रधानमन्त्री बन्ने स्पष्ट व्यवस्था हुँदाहुँदै कांग्रेस सभापति शेरबहादुर देउवाले मौनता साँधिरहेका छन् । प्रधानमन्त्री प्रचण्डलाई साथ दिएरै अघि बढ्ने मनासायमा छन् । कांग्रेसका नेताहरु पनि अहिलेको सरकारलाई आफूहरुको पूर्ण समर्थन रहेकोले तत्काल सत्ता समिकरण फेरबदलको सम्भावना देखिरहेका छैनन् । यस्तोमा प्रचण्डको प्रधानमन्त्री पद संकटमा नहुँदा नहुँदै पनि एमालेले अनावश्यक झमेला निकालेको र त्यो सफल हुन नसकेको माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल बताउँछन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पर्दाताका पनि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको सत्ता ढाल्न खोजे । कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणसमेत पक्राउ परेकाले कतै यसैमा पो खेल्न सकिन्छ किन ? भन्ने ओलीलाई लाग्यो । तर, कांग्रेस सभापति देउवा ओलीलाई विश्वास गरेर हाम फालिहाल्ने पक्षमा देखिएनन् । ओलीभन्दा बरु प्रचण्ड नै ठिक लागेका देउवा अहिले सत्ता समिकरण फेरबदलको राजनीतिबाट पर बसेर प्रचण्डलाई नै काँध थापेर बसिरहेका छन् ।

सरकार विस्तारका क्रममा असन्तुष्ट देखिएका नेकपा एकीकृत समाजवादीलगायत दलहरुलाईसमेत प्रधानमन्त्री प्रचण्ड मिलाएर अघि बढ्न सफल भईरहेका छन् । बरु सत्ताबाट हटिन्छ, तर बजेट पास गर्न दिन्नँ भन्नेहरु नै अहिले प्रधानमन्त्री प्रचण्डको विकल्प देखिरहेका छैनन् । समाजवादी मोर्चा नेपाल घोषणा गरेर थप शक्ति आर्जन गर्दै गरेका प्रधानमन्त्री प्रचण्डसंसदीय राजनीतिमा आफूलाई शसक्त खेलाडीको रुपमा स्थापित गराउन चाहन्छन् ।