देश

प्रमुख तीन दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजेः सभापति लामिछाने


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताउनुभएको छ । आईतवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसदलाई काँग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का सांसदहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताउनुभएको हो ।

उहाँले तीन राजनीतिक दलहरुका बीचमा सल्लाह मिल्दा संसद चल्ने र सल्लाह नमिल्दा संसद नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले दलहरुले पटक–पटक यस्तो गरेको भन्दै अब आफूहरुले नसहने बताउनु भयो । उहाँले आपसमा सल्लाह नगरी जुनकुनै मुद्दा संसदमा लिएर आउन आग्रह गर्नुभयो ।

उहाँले आफूहरु मिटरब्याज पीडितहरुको पक्षमा नरहेको प्रचार गरिएको भन्दै त्यसमा सत्यता नरहेको बताउनु भयो । आफूहरु मिटरब्याज पीडितको लागि आएको अध्यादेशको पक्षमै रहेको उल्लेख गर्दै उहाँले अन्तिम दिनमा संसदमा ल्याउनु नै सरकारको गल्ती भएको बताउनु भयो । उहाँले आफूहरु संसद सुचारु रुपमा चलोस् र प्रधानमन्त्रीले संसदबाट जवाफ दिनुपर्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

सभापति लामिछानेले यसअघिको बैठकमा एमालेका सांसदहरुले बोलेपछि सभामुखले आफूहरुलाई बोल्न नदिएर सबै प्रतिपक्षको आवाज नै त्यही हो भन्ने भाष्य निर्माण गरिएको बताउनु भयो । उहाँले रास्वपाको आफ्नै अडान र मुद्दाहरु रहेको उल्लेख गर्दै त्यसमा आफूहरु अडिग रहेको बताउनु भयो ।