Breaking

बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउँछन् अर्थमन्त्री


काठमाडौँ — अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताएका छन् ।​ बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आईरहँदा अर्थमन्त्री महतले सो आश्वासन दिएका हुन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौंले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वाससमेत व्यक्त गरे ।

अर्थमन्त्री महतले कोभिड लगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत हुने बताए । उनले भने, ‘यो अहिलेको जुन ब्याजदर छ । त्यो ज्याँदा छ । त्यसकारण त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु । सायद केही न केही सम्बोधन होला । त्यसले गर्दाखेरी यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ । केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ । अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक वस्तुहरुको खपतमा जोड दिनु पनि आम उपभोक्तालाई आग्रह गरे ।

उनले कृषिवस्तुको खपत र रोजगारी सृजनाको क्षेत्रमा राम्रो काम गरेको भन्दै क्याटरिङ व्यवसायीहरुको पनि प्रशंसा गरे । अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको पनि दोहोर्‍याए । उनले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराए ।