Breaking

एमालेको प्राथमिकता सत्ता होइनः पोखरेल


काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताएका छन् । महासचिव पोखरेलले कमजोरहरुको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको तर्कसमेत गरे । नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुकलाई निर्माण गर्न सकिने निष्कर्षसहित सो काममा आफ्नो पार्टी लागि परेको बताए ।

मुलुकमा अहिले कमजोर राजनीतिक शक्ति माओवादी केन्द्रलाई सरकारको नेतृत्व मानेर अघि बढ्नुपर्ने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न पनि एमालेले चुनाव लगत्तै आफ्नो पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउने गरी मिशन ग्रासरुट अभियान संचालन गरेको उनले स्पष्ट पारे ।

महासचिव पोखरेलले कमजोर राजनीतिक शक्तिहरूले नेतृत्व लिँदा मुलुकको अवस्था कमजोर भएकाले एमालेले त्यसबाट मुलुकलाई पार लगाउने गरी आफ्नो पार्टीलाई बलियो राजनीतिक शक्तिको रुपमा स्थापित गराउन चाहेको तर्क पनि गरे । उनले जनादेश विपरीत कमजोर राजनीतिक शक्तिलाई सरकारको नेतृत्वमा पुर्याउने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न आफूहरू क्रियाशील रहेको बताए ।