Breaking

भ्रष्टाचारको फाइल जिस्काउनका लागि खोलेजस्तो नगर्नु होलाः रवि लामिछाने


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको जरो उखेल्ने आफूहरूको पहिलो काम भएको बताएका छन् । बिहीबार डडेल्धुरा सदरमुकाममा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अहिले सरकारले भ्रष्टाचारका फाइलहरू खोल्न सुरु गरेको उल्लेख गर्दै सभापति लामिछानेले फाइल खोलेजस्तो गरेर बन्द गर्ने काम नगर्न सरकारलाई चेतावनी दिए । सरकारले भुटानी शरणार्थी प्रकरणका हाङ्गाबिङ्गालाई मात्रै जेल पठाएको तर जरालाई जेल पठाउन नसकेको उनको भनाइ थियो ।

‘सरकारले अहिले भ्रष्टाचारका फाइलहरू खेल्ने काम सुरु गरेको छ । तर म यहीँबाट सरकारलाई भन्छु फाइल खेलेजस्तो गरेर बन्द गर्ने षडयन्त्र नगर्नुहोला यदि गरे पनि ०८४ सम्म त जसोतसो चल्ला तर ०८४ पछि त्यो टिक्नेवाला छैन । जिस्काउनका लागि फाइनल खोलेजस्तो नगर्नु होला, नेपाली जनताले ध्यान दिएर हेरेका छन् ।

भुटानी शरणार्थी काण्डमा केही मान्छेहरू थुनिए, जनता त्यो काण्डको जरोसम्म पुगेका हेर्न चाहन्छन् । सरकारले हाङ्गाबिङ्गा मात्रै काट्यो, जरालाई जेल पठाउन बाँकी नै छ । उनले आफूहरू सरकारले गरेका राम्रा कामको प्रशंसा गर्न तयार रहेको पनि बताए ।