Breaking

श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको भेट


काठमाडौँ – श्रीलंका भ्रमणमा रहेका नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।

श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघेको निवासमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

यस्तै अध्यक्ष नेपालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग पनि आज साँझ भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवासमा भएको भेटमा दुई देशको भाइचारा सम्बन्ध, एशियाका मुलुकमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

भेटमा नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको बताउँदै दुवै देशले एकअर्कालाई आवश्यक सरसहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ ।

अध्यक्ष नेपाल श्रीलङ्कन कम्युनिष्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एशियाका कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन सोमबार श्रीलङ्का प्रस्थान गरेका थिए ।