काठमाडौँ – गोलकिपर गुरप्रित सिंह सन्धु नायक बन्दै कुवेतका कप्तान खालेद हजिएहको पेनाल्टी प्रहार रोकेपछि भारतले साफ च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ ।
मंगलबार भएको फाइनलमा भारतले आमन्त्रित टोली कुवेतलाई सडनडेथमा हराउँदै कीर्तिमानी नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।
बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमको खेल १-१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।
सुरुमा ५-५ पेनाल्टी प्रहार गरिएकोमा दुवै टोलीले ४-४ पेनाल्टी गोलमा परिणत गरे । जहाँ भारत कप्तान सुनिल क्षेत्री, सन्देश जिन्गन, लालिएन्जुअला चाङ्ग्टे र सुबासिस बोसले गोल गरे । भारतका उदान्त सिंह पेनाल्टीमा चुके ।
कुवेतका फवाज अलओताइबी, अहमद अल्धेफेरी, अब्दुलजिज महरान र सबाइब अलखाल्दीले गोल गरे भने मोहम्मद अब्दुलल्ह गोल गर्न सकेनन् ।
त्यसपछि सडनडेथमा भारतका लागि महेश सिंहले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । अनि गोलकिपर गुरप्रितले कुवेतका कप्तान खालेद अजिएहको अन्तिम पेनाल्टी प्रहार बचाएपछि भारत विजयी भएको हो ।
भारत घरेलु मैदानमा अपराजित रहँदै च्याम्पियन बनेको हो । यसअघि समूह चरणमा भारतले कुवेतले १-१ को बराबरी खेलेका थिए । सेमिफाइनलमा भारतले अर्को आमन्त्रित टोली लेबनानलाई पेनाल्टीसुटआउटमा हराएको थियो ।
प्रतिक्रिया