Breaking

ललिता निवास जग्गा प्रकरणका ३ आरोपितको रिट न्यायाधीश भट्टराई र फुयाँलको इजलासमा


काठमाडौँ –

ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनाको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा परेको छ।

शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार चुँडालको एकल इजलासले २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । प्रतिवादीहरुले सोमबार लिखित जवाफ बुझाएपछि आजका लागि पेसी तोकिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर बालुवाटार जग्गा प्रकरणमा ठगी र किर्तेको कसुरमा अनुसन्धान अगाडि बढाएपछि सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

गृह मन्त्रालयसमेतलाई विपक्षी बनाइएको रिट निवेदनमा यो कसुरमा मुद्दा चल्न नसक्ने र सर्वोच्च अदालतले नै हदम्याद नाघिसकेको भनी आदेश गरिसकेकाले आफूहरुलाई थुनामा राख्न नमिल्ने माग गरिएको छ ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले १७ जनालाई यो मुद्दामा पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो । सोही आदेशलाई आधार मान्दै तीनजना छुटेका थिए । सर्वोच्चले उक्त आदेश गर्दाका फाइलसमेत सँगै पेस गर्न भनेको छ । यो प्रकरणमा सीआईबीले अहिलेसम्म ९ जनालाई पक्राउ गरिसकेको छ ।