Breaking

भ्रष्टाचार नियन्त्रणका लागि सरकार अझै कडा तरिकाले प्रस्तुत हुन्छ: प्रधानमन्त्री दाहाल


काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन् । उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा माओवादी केन्द्र सम्वद्ध वाइसिएल नेपालका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा आफूले कोही कसैसँग पनि सम्झौता नगर्ने र विगतका सबैजसो काण्डको छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याएर छाड्ने दृढता व्यक्त गरे । नक्कली शरणार्थी प्रकरणमा जस्तै, बालुवाटार जग्गा प्रकरणमा संलग्न दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने स्पष्ट पार्दै उनले विगतमा सबैजसो ठूला काण्डका दोषीलाई पनि कानुनी दायरामा ल्याएरै छाड्ने बताएका वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटाले जानकारी दिए । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सवालमा सरकारले कोही कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्दै त्यसमा साथ र सहयोग दिन युवा नेतृत्वलाई प्रधानमन्त्री दाहालले आग्रह गरे । “माओवादीको एजेण्डा अरुले खोस्ने जस्तो अवस्था देखापर्‍यो । भ्रष्टाचारी नै भ्रष्टाचारविरोधी जस्ता देखा परे । नयाँ खालका भनिएकाको अवस्था पनि त्यस्तै देखियो । यतिबेला नयाँ तरिकाको क्रान्ति सुरु भएको छ । यसलाई सफल बनाउन नयाँ तरिकाले जानुको विकल्प छैन”, प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै वाइसिएलका इञ्चार्ज सापकोटाले जानकारी दिए ।