Breaking

देश बनाउने एजेण्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौं : प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै पुराना पार्टीहरुको भन्दा राम्रो विचार लिएर आउने, राम्रो एजेण्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरुलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको बताउनुभयो।

सोमबार स्व. गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्तिलाई रोक्न जरुरी रहेको बताउनुभयो । उहाँले नयाँ इच्छाशक्ति सहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने देश दुर्घटनामा जाने बताउनुभयो।

प्रधानमन्त्री दाहालले अहिलेको स्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरु नरहेको बताउनुभयो । उहाँले अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याँई गर्ने हो भने देशकै भविष्य दुर्घटनामा पर्ने दाबी गर्नुभयो । उहाँले सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेकोबताउनुभयो।
प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐन, मन्त्रीपरिषदमा छलफल गरी मन्त्रीपरिषदकै समितिमा पठाइसकेको उल्लेख गर्दै केही दिनभित्र नै संसदमा प्रस्तुत गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले विश्वविद्यालय ऐनको पनि आवश्यकता रहेकाले त्यसको तयारीमा लाग्ने पनि बताउनुभयो ।

उहाँले गिरिजाप्रसाद कोईराला मेमेरोयिल कलेजलाई विश्वविद्यालय बनाउने काम अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।