Breaking

मलेसियालाई हराउदै नेपाल बन्यो समूह विजेता, नेपाली क्रिकेटमा छायो खुशीयाली


काठमाडौँ — मलेसियामा भईरहेको एसीसी इस्ट जोन यू–१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल समूह विजेता बन्दै सेमिफाईन प्रवेश गरेको छ । घरेलु टोली मलेसियालाई ८५ रनले पराजित गर्दै नेपाल समूह ए को विजेताको हैसियतमा सेमिफाइनल प्रवेश गरेको हो । मलेसियामा जारी एसीसी इस्ट जोन क्रिकेट यू–१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बन्न सफल भएको छ । यो नेपालको लागि खुशीको खबर हो । अशोक धामीको अलराउन्ड प्रदर्शनमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको हो ।

ब्याटिङतर्फ ५२ रन बनाएका धामीले बलिङतर्फ ४ विकेट लिए । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा १८३ रनमा अल आउट भएको थियो । ९१ रन हुदाँ ७ विकेट गुमाएर कमजोर अवस्थामा पुगेको नेपाललाई फर्काउन अशोक र नरेन भट्टले आठौं विकेटका लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रन बनाए ।

नरेन भट्ट ४३ बलमा १ चौकासहित २९ रनमा आउट भए । नवौं विकेटका लागि अशोकले कृतिक कामतसँग ३९ रनको साझेदारी गरेका थिए । कामत १७ बलमा १ चौकासहित १६ रनमा आउट भए । नेपालले निरजकुमार यादवलाई ८ रनमै गुमाएको थियो । सूर्यांशु कोइराला २६ बलमा ५ चौकासहित २९ रनमा आउट भए । विकेट किपर आषिश लुहार गोल्डेन डक आउट भए । तीव्र गतिका बलर आरिन अकिले प्रतिक भट्टराईलाई ४ रनमा क्याच आउट गराए ।

स्पीनर मोहम्मद मुकरीले दीपु कुमारलाई १५ रनमा क्याच गराए । उनले ४१ बल खेलेका थिए । मुकरीको बलमा स्वीपमा मिस हुँदा सन्तोष यादव शून्यमा एलबीडब्लू आउट भएका थिए । मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३०.५ ओभरमा ९९ रन बनाउँदै अल आउट भयो । मलेसियालका लागि विकेट किपर मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाए ।

शीर्ष क्रमका ब्याटर धेरैबेर क्रिजमा नटिक्दा पाँचौं विकेटका लागि मोहम्मद अक्रम र हैरिलले ३२ रनको ठूलो साझेदारी गरे । मलेसियाका लागि कप्तान मोहम्मद अलिफले १५, महम्मद अक्रमले १२ रन बनाए । ८२ रन हुँदा ६ विकेटको अवस्थामा अक्रम क्याच आउट भएपछि मलेसियाका कुनै पनि ब्याटर टिक्न सकेनन् । ८५ रन हुँदा ९ विकेटको अवस्थामा रहेको मलेसियाले अन्तिम विकेटमा १४ रन जोडे । मलेसियाका लागि आर्यन अकिल १० रनमा अविजित रहे । मलेसियाले एक्स्ट्रा २० रन पाए पनि जित्न भने सकेन । नेपालका लागि बलिङमा अशोक धामीले ७ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए ।

कप्तान अभिषेक तिवारीले ४.५ ओभरमा ३ विकेट, सन्तोष यादवले २ र कात्तिक कमाटले १ विकेट लिए । जितसँगै नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । नेपालले जुन ३ मा समुह बीको उपविजेतासँग सेमिफाइनल खेल्नेछ । आवश्यक पूर्वाधार अभावको बाबजुत पनि नेपाली क्रिकेटमा उमेर समुहले देखाएको प्रर्दशनीले आगामी दिनको नेपाली क्रिकेट टिममा केही आस भने जगाएको छ ।