Breaking

विश्वासको मतको परीक्षण गर्छु, आज मतदान हुन्छ : मुख्यमन्त्री कार्की


काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेशसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावको परीक्षण गर्ने बताएका छन् ।

बिहीबारको सदनमा कार्कीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव पेश गरेका थिए । मुख्यमन्त्री कार्कीले आफूले राखेको प्रस्तावको पक्ष र विपक्षमा मतदान गराएरै परीक्षण गर्ने बताए । प्रदेशसभामा अल्पमतमा परेको अवस्थामा पनि उनले विश्वासको मतको प्रस्तावका विषयमा परीक्षण गर्ने बताएका हुन् ।

उनले नेपाल प्रेससँग भने, ‘सदनमा देखिएको गणित एक खाले छ, नदेखिने अंकगणितका विषयमा पनि परीक्षण गर्न आवश्यक रहेकाले आजको संसदमा पक्ष र विपक्षमा मतदान हुने बताए । हामी विश्वासको मत लिनका लागि मतदानमा जाने छौं ।’
कोशी प्रदेशसभाको बैठक ११ बजेका लागि बोलाइएको छ ।

सरकारमा रहेको माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की संकटमा छन् । कोशीमा नेकपा एमाले सबैभन्दा ठूलो दल रहेको छ ।

९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सीट आवश्यक पर्छ । एमाले र राप्रपासँग ४६ सांसद छन् । गठबन्धनमा रहेका दलसँग सभामुखबाहेक ४६ सांसद छन् । तर, जसपाले तटस्थ बस्ने निर्णय गरेका कारण गठबन्धको एक सीट अझै घट्छ । यो अवस्थामा कार्कीले बहुमत पाउने सम्भावना पनि क्षीण छ ।