Breaking

नेपाल कृषिप्रधान देश भएकैले ५ महिना नाकाबन्दी हुँदा पनि टिक्यो : ओली


काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कृषि प्रधान देश भएकै कारण पाँच÷पाँच महिना नाकाबन्दी लाग्दा पनि टिक्न सकेको बताएका छन्।

२०औँ राष्ट्रिय धान दिवसका अवसरमा शुक्रबार बिहान चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले खानपुग्ने अन्न देशमै उत्पादन हुने भएकाले नाकाबन्दीमा पनि हामी झुक्न नपरेको दाबी गरेका हुन्।

‘हामीलाई पाँच महिना नाकाबन्दी लाग्यो, पाँच महिना नाकाबन्दी लाग्दा पनि नेपाल किन टिक्यो भने यो देश कृषिप्रधान देश हो, कृषिप्रधान देश भएको हुनाले नाकाबन्दीजस्तो चिजमा पनि, जो हामी प्रायः सबै चिज बाहिरबाट ल्याउँछौँ। हामीलाई खान पुग्ने झन्डै झन्डै अन्न यहीँ उत्पादन हुन्छ। सब्जी यहीँ उत्पादन हुन्छ, फलफूल, माछामासु, दूध’, ओलीले भने, ‘त्यसो भएको हुनाले हामीलाई त्यस नाकाबन्दीले पनि गलाउन सकेन।’

२०७२ साल असोज ३ गते नेपालले नयाँ संविधान जारी गरेलगत्तै भारतले असोज ६ गतेदेखि अघोषित नाकाबन्दी लगाएको थियो। जतिबेला ओली नै प्रधानमन्त्री थिए।