Breaking

नक्कली शरणार्थी प्रकरण इतिहासकै ठूलो अनुसन्धान र उपलब्धि हो : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणलाई इतिहासकै ठूलो अनुसन्धान भएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी काण्ड इतिहासकै ठूलो उपलब्धि भएको दाबी गरेका हुन् ।

प्रचण्डले भने,‘हाइ प्रोफाइलका व्यक्ति कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनिरहेको थियो । त्यसले जनतामा आक्रोस जन्माइरहेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको अनुसन्धान र कारबाहीपछि जनतामा आशा र विश्वास जागेको छ ।’

प्रधानमन्त्री प्रचण्डले यस प्रकरणमा सरकारले कानुनको सर्वोच्चता मात्र नभई लोकतन्त्रको सर्वोच्चता कायम गर्न सफल भएको बताए । उनले उच्च पदस्थहरु देशको व्यक्ति कानुनभन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणित भएको उल्लेख गरे ।

उनले सबै जसो आर्थिक सूचक सकारात्मक दिशामा अगाडि बढेको जानकारी दिए । विप्रेषण र पर्यटक नेपालमा बढ्दै गएको उल्लेख गरे ।