Breaking

साफ च्याम्पियनसिप : प्रतिष्ठाका लागि पाकिस्तानसँग भिड्दै नेपाल


काठमाडौँ – साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपाली राष्ट्रिय फुटबल टोली पाकिस्तानसँग भिड्दै छ।

भारतको बैंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा हुने नेपाल/पाकिस्तान प्रतिस्पर्धा अपराह्न पौने ४ बजे सुरु हुनेछ।

लगातार दुई खेलमा हार भोग्दै समूह चरणबाट बाहिरिसकेका नेपाल र पाकिस्तान दुवैका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ।
समूह चरणको पहिलो खेलमा कुवेतसँग ३-१ ले तथा दोस्रो खेलमा घरेलु टोली भारतसँग २-० ले हार्दै नेपाल समूह चरणबाट बाहिरिएको हो।

पाकिस्तान भने भारत र कुवेत दुवै टोलीसँग समान ४-० ले हारेको थियो।

अघिल्लो सिजन साफको फाइनल खेलेको नेपाली टोली सन् २०१५ पछि समूह चरणबाट नै बाहिरिएको हो। नेपाल रहेको समूह एबाट भारत र कुवेत अन्तिम चारमा प्रवेश गरेका छन्।

आजै हुने अर्को खेलमा समूह विजेताका लागि भारत र कुवेत भिड्नेछन्।

साफमा यसपटक दक्षिण एसियाका ६ टोलीसँगै लेबनान र कुवेतले पनि प्रतिस्पर्धा गरिरहेका छन्। आफ्नो स्तरवृद्धिका लागि साफले दक्षिण एसिया बाहिरका दुई टोलीलाई आमन्त्रण गरेको हो।