Breaking

ढुक्क प्रचण्ड, सरकार ढाल्दै एमाले, बन्लान् देउवा प्रधानमन्त्री ?


काठमाडौँ — आगामी आर्थिक बर्षको बजेटलाई लिएर सत्तारुढ गठबन्धनभित्रै अविश्वास बढ्दा नयाँ सत्ता समिकरणको चर्चा चुलिएको छ । एमाले र कांग्रेसका दोस्रो तहका नेताहरूको भेटघाटले प्रचण्ड सरकारको भविश्यमाथि प्रश्न उठ्न थालेको छ । वर्तमान सत्ता गठबन्धन धरापमा परेकै हो त ? नेपाली राजनीतिमा सरकार बन्नु र गिर्नु नौलो होइन । अझ संसदको तेस्रो दलको नेतृत्वमा रहेको सरकारबारे अनेक चर्चा परिचर्चा हुनु स्वाभाविकै हो ।

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार बनेको ६ महिनामै ढल्ने चर्चा चुलिएको छ । कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूको भेटवार्ताले सरकारको भविश्यमाथि प्रश्न चिन्ह खडा गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको सिंगापुर भ्रमण र सरकारको नेतृत्व गरिरहेको माओवादीसहित चार दलको समाजवादी मोर्चा गठनपछि राजनीतिले नयाँ कोर्ष लिन थालेको त होइन ? एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्ड राष्ट्रपतिको निर्वाचनसँगै नयाँ गठबन्धन छोडेर निर्वाचनताकाकै गठबन्धनमा फर्किएका थिए । सत्तारुढ गठबन्धनबीच प्रधानमन्त्री आलोपालो गर्नेसमेतको सहमति छ ।

सत्तारुढ गठबन्धनमा कुनै समस्या नआउने माओवादी दाबी छ । अहिलेको त्रिशंकु संसदमा अनेकै खेल हुन्छन । एमालेलाई सत्तामा फर्किन गठबन्धन दलभित्र नखेली सुखै छैन । कांग्रेस पनि तत्कालीन सत्तारुढ गठबन्धन दलभित्रै खेलेर सत्तामा फर्किएको थियो । एमाले अहिले त्यही रणनीतिमा देखिन्छ । एमाले नेताहरूको दाबीलाई सहयोग पुग्ने गरी कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्ति आयो । गठबन्धन ठिक ढंगले नचले नयाँ समिकरण बन्ने थापाको स्पष्ट धारणा थियो ।

बजेटलाई लिएर गठबन्धनमा आवद्ध एकीकृत समाजवादी, जसपा र जनमत पार्टीका सांसदहरुले संसदभित्रै सरकारको आलोचना गरेका छन् । गठबन्धन सरकारले ल्याएको बजेट पारित हुन केही दिन बाँकी छँदा सत्ता समीकरणका लागि हुन थालेको दलीय संवादलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।