Breaking

ओलीसँग गले माधव, आफ्नै वैरी भए, प्रचण्डमा विलय, चौतर्फि आलोचना


काठमाडौँ — तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटनलगत्तै नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादी आन्तरिक विवादमा फसेको छ । पार्टीका नेता तथा सांसदहरुले सार्वजनिक मञ्चदेखि सदनमासमेत असन्तुष्टि छताछुल्ल बनाईरहेका छन् । पार्टी अध्यक्ष माधव कुमार नेपाल मोर्चाबन्दी गरेरै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सम्बन्ध थप बलियो बनाउने पक्षमा रहँदा पार्टीभित्रको असन्तुष्टि भने थप झाँगिदै गएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जसरी पनि प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सहकार्य जोगाउन चाहन्छन् ।

तर, उनले नेतृत्व गरेको पार्टीका नेताहरु भने प्रधानमन्त्री प्रचण्ड र सरकारको कार्यशैलीप्रति खुलेर विरोधमा उत्रन थालेका छन् । आफ्नै मिहिनतले सिंचेको नेकपा एमालेलाई ओली एण्ड कम्पनिको संज्ञा दिँदै, संविधान र लोकतन्त्रको रक्षाका लागि भन्दै पार्टीभित्रै विद्रोह गरेर एमालेबाट अलग हुँदै नयाँ पार्टी गठन गरेका नेपाल अहिले पार्टीभित्रबाटै घेराबन्दीमा पर्न थालेका छन् । उनीमाथि व्यक्तिवाद, आफन्तवाद, अवसरवाद जस्ता आरोप लाग्ने गरेको छ ।

उनको विद्रोहमा साथ दिएका, हातै समातेर नयाँ पार्टी खोल्न हौसाएका नेताहरु अहिले हात धोएर अध्यक्ष नेपालमाथि खनिन थालेका छन् । अध्यक्ष नेपालको कमजोर व्यवस्थापनकै कारण कतिपय नेताहरु एमालेमै फर्किएका छन् भने कतिपय फर्किने क्रममा छन् । तल्लो तहदेखि पार्टीका शीर्ष नेतासम्मले नै एकीकृत समाजवादीबाट आफ्नो राजनीतिक भविश्य सुनिश्चित देखेका छैनन् ।

सरकारको कामकारबाहीप्रति असन्तुष्ट शीर्ष नेताहरु समाजवादी मोर्चाको घोषणापछि झनै बिच्किएका छन् । सत्ता टिकाउने प्रपञ्च अनुरुप प्रधानमन्त्री प्रचण्डको रणनीति अनुसार समाजवादी मोर्चा घोषणा हुँदा माधव नेपाल त्यसैमा काँधमा काँध मिलाउन पुगेका छन् । यसमा उनले आफ्नै पार्टीका शीर्ष नेताहरुको चित्त बुझाउन सकेनन्, फलतः सार्वजनिक मञ्चदेखि सदनको रोष्टमसम्म नै एकीकृत समाजवादीका नेताहरुको असन्तुष्टि पोखिने क्रम जारी छ ।

२०७९ सालको सबै तहको चुनावमा नेकपा एमालेलाई देखाईदिने भनेर उद्घोष गरेका अध्यक्ष माधव कुमार नेपालले आफ्नो मत परिणाम हेरेर आफैंले चित्त बुझाउनुपर्यो । एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने भनेर सार्वजनिक अभिव्यक्ति दिएका नेपालले आफ्नै पार्टीलाई राष्ट्रिय पार्टी बनाउन भने सकेनन् ।

अर्थात आफ्नै पार्टीको अविगत टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्यो । गठबन्धनको जोडबलमा केही सिट जित्न त सफल भए, कमजोर नेतृत्वकै कारण समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसकेपछि पार्टीका नेताहरु थप बिरक्तिएका छन् । होसटेमा हैंसे गर्दै पार्टी जन्माउन एक भएका सहयात्रीहरु नै आफूविरुद्ध लाग्दा एकीकृत समाजवादीका अध्यक्ष नेपालको सकस यतिकै अन्त्य हुने देखिँदैन ।