Breaking

बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगे भारतीय प्रधानमन्त्री मोदी


काठमाडौँ – चारदिने राजकीय भ्रमणका क्रममा अमेरिकामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगेका छन्।

भारतीय विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति बाइडेन, प्रथम महिला जिल बाइडेन र परिवारसँग भेटघाटका लागि ह्वाइट हाउस पुगेको जनाएको छ । आज मोदी र अमेरिकी राष्ट्रपति जोए बाइडेनबीच भेट भई द्विपक्षीय वार्ता कार्यक्रम तय भएको छ ।

वार्तामा शिखर सम्मेलनको मुख्य उद्देश्य रक्षा र अत्याधुनिक प्रविधिको क्षेत्रमा भविष्यका लागि स्पष्ट रोडम्याप तयार गर्ने विषयमा छलफल हुने बताइएको छ। रक्षासँग सम्बन्धित हतियारमा साझेदारी गर्ने र अमेरिकी कम्पनीका अत्याधुनिक रक्षा प्रविधि भारतलाई हस्तान्तरण गर्ने एजेण्डा राखिएको छ।

आजै राष्ट्रपति बाइडेन र उनकी पत्नी जिलले मोदीका लागि रात्रिभोजको आयोजना गर्नेछन्। अमेरिकी राजनीति र अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू पनि रात्रिभोजमा सहभागी हुने बताइएको छ । मोदी मंगलबार अमेरिका पुगेका थिए।