देश

एसइईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारीमा


काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) यही असार तेस्रो साताभित्र प्रकाशित गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए ।

उनले भने, ‘अहिले नतिजा भेरिफाइ भइरहेको छ, यही असार तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने हाम्रो तयारी छ । २०७९ सालको एसइई परीक्षा गत चैत १७ गते (शुक्रबार) देखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म भएको थियो ।

परीक्षा बोर्डका अनुसार एसइई परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका छन्। एसइई परीक्षाका लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएको थियो । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष , निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति खटिएका थिए ।

तर परीक्षा भएको पहिलो दिनमै प्रश्नपत्र बाहिरिएको थियो । उक्त प्रश्नपत्र सामाजिक सञ्जालमा भाइरल भएको थियो। बाराको आदर्श कोतवाल गाउँपालिकामा पर्ने महेन्द्र आदर्श जयनगर च्युटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र फेसबुकबाट आउट भएको थियो ।

गाउँपालिका प्रशासनका शाखा अधिकृत सुनिल थापाका अनुसार परीक्षा शुरु भएको १५ मिनेटमै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको पाइएपछि प्रश्नपत्र आउट गर्ने छात्रको परीक्षासमेत रद्द गरिएको थियो । धनुषाको औरही गाउँपालिकास्थित मा।वि। चक्कर परीक्षा केन्द्रमा अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि झन्डै एक घण्टा ढिलो एसइई परीक्षा शुरु भएको थियो ।

तर परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले भने प्रश्नपत्र बाहिर आउट भयो भनेर बाहिर अफवाह फैलाइएको दाबी गरेका थिए । उनले भनेका थिए, ‘बाहिर अफवाह फैलाइयो, यो गलत कुरा हो, हामीले बिहान ७ बजेदेखि १० बजेसम्म बसेर सबै ठाउँको जानकारी लिइरहेका छौँ, हामीलाई त्यस्तो केही जानकारी आएको छैन,शान्तिपूर्ण राम्रो ढंगले परीक्षा सञ्चालन भइरहेको छ ।