Breaking

साफ च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै


काठमाडौँ – १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल आजदेखि भारतको बैङ्लुरुमा सुरू हुँदै छ।

भारतको बैङ्लुरुस्थित श्री कान्तिराभा रंगशालामा बुधबार साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले कुवेतसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरू हुनेछ ।

साफका ६ र २ आमन्त्रित राष्ट्र गरि ८ टोली सहभागी छन् । साफ च्याम्पियनसिपको पहिलो संस्करणदेखि नै खेल्दै आएको नेपालको अहिलेसम्मको सफलता भनेको एक पटक उपविजेता बन्नु मात्र हो । गत संस्करण माल्दिभ्समा भारतसँग ३–० गोलले हारेको नेपाल साबिक उपविजेता हो । ​

मध्यपूर्वी राष्ट्र कुवेत वरियताका आधारमा नेपालभन्दा बलियो टोली हो । फिफाको वरियतामा नेपाल १७४ औं स्थानमा छ भने कुवेत ३१ स्थान माथि १४३ औं स्थानमा छ । १० पटक अरेवियन गल्फ कप जितेको कुवेतले १ पटक विश्वकप र १० पटक एसियन कप समेत खेलिसकेको छ ।

नेपाल र कुवेतबीच अहिलेसम्म ९ खेल हुँदा नेपालले १ मात्र बराबरी गरेको छ भने बाँकी ८ खेल कुवेतले जितेको छ । २०१९ मा भएको मैत्रीपूर्ण खेलमा उसलाई गोलरहित बराबरीमा रोकेको नेपाल पछिल्लो पटक कुवेतसँग गत वर्ष एसिया कप छनोटको खेलमा भने ४–१ गोलले हारेको थियो ।

यि दुईबीच पहिलो पटक सन् १९८२ एसिया कप छनोटमा भेट भएको थियो । जहाँ नेपाल ३–१ गोलले हारेको थियो । त्यस समय वाईबी घलेले गोल गरेका थिए भने त्यसको ४० वर्षपछि गत वर्ष एसिया कप छनोटमै दर्शन गुरुङले कुवेतविरुद्ध गोल गरे । कुवेतविरुद्ध नेपालले अहिलेसम्म यही २ गोल मात्र गर्दा ३४ गोल खाएको छ ।​

यस्तोमा नेपाललाई पहिलो खेलमा दबाबसँगै कुवेतविरुद्ध ऐतिहासिक जित निकाल्ने मौका पनि हुनेछ । नेपाल र कुवेतसँगै समूह ए मा आयोजक भारत र पाकिस्तानसमेत छन् । पाकिस्तान र भारतबीच राति पौने ८ बजे दोस्रो खेल हुनेछ ।