Breaking

राष्ट्रपतिको मुटुमा पेसमेकर राखियो


काठमाडौँ — मुटुको चालमा गडबडी भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखिएको छ । मुटुमा समस्या देखिएपछि शनिबार अस्पताल पुगेका उनलाई चिकित्सकले मुटुको चाल निगरानीका लागि भन्दै भर्ना गरेर राखेका थिए। अस्पताल स्रोतका अनुसार मंगलबार मुटुको चाल कम भएपछि पेसमेकर जोडिएको हो । पेसमेकर एक प्रकारको यन्त्र हो ।

यसले मुटुको चाल अचानक कम भएर शरीरलाई चाहिने आवश्यक रक्तसंचार नपुगेको बेलामा मुटुको धड्कन सामान्य बनाउन मद्दत गर्छ । उनलाई अस्पतालको सिसियुमा राखेर मुटुको चालको निगरानी भइरहेको अस्पताल स्रोतले जनाएको छ । राष्ट्रपति पौडेलको गत मंगलबार शहीद गंगालाल अस्पताल बाँसबारीमा मुटुको एन्जियोग्राम गरिएको थियो। एकदिन अस्पताल भर्ना भएर बसेको राष्ट्रपति पौडेल बुधबार ‘डिस्चार्ज’ भएका थिए ।

त्यसपछि राष्ट्रपति पौडेल शीतल निवासमै गत शनिबार राति २ बजे थप समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्ज लगिएको हो । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल गत बैशाखमा पनि झन्डै दुई साता लामो समय भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गराएर आएका थिए ।