Breaking

प्रेम चलाउनेलाई आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने निवेदन सुनुवाइ भएन


काठमाडौँ – जिल्ला अदालत काठमाडौँले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरु विरूद्धको मुद्दा फिर्ता लिने निवेदन सुनुवाइ गर्न अस्विकार गरेको छ ।

न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पेशीमा नचढाई निवेदन सोझै इजलासमा पेश भएको भन्दै त्यस्तो निवेदन सुनुवाई गर्न अस्विकार गरेको हो । न्यायाधीश श्रेष्ठले उक्त निवेदन पेशीमा चढाएर मात्रै पेश गर्न आदेश दिएका छन् ।

सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसबारे सोमबार निर्णय गरेको सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा निवेदन पेश गरेको थियो । त्यो निवेदन मुद्दाको पुरक निवेदनको रूपमा पेशीमा चढेर इजलासमा पुग्नुपर्नेमा सोझै मिसिल सहितको फाइल न्यायाधीशकोमा पुगेको थियो ।

मुद्दा फिर्ता लिने तयारी भएको थाहा पाउनासाथ प्रेम चलाउनेका कानून व्यवसायीहरु त्यसको प्रतिवाद गर्न जिल्ला अदालत पुगेका थिए । अधिवक्ताहरु स्वागत नेपाल, राधिका चौलागाई लगायतले सरकारको निर्णय प्रक्रियासम्मत नभएको भन्दै मुद्दा फिर्ताको निवेदनमा अनुमती दिन नहुने माग गरे ।

उनीहरुको मागपछि इजलासले निवेदनको सुनुवाइ नै नगरी अर्को दिन पेशी तोक्न आदेश गरेको हो ।