समाचार

युनिग्लोब कलेजमा १२औँ व्यापार मेला सम्पन्न


काठमाडौँ – काठमाडौँको नयाँ बानेश्वरस्थित युनिग्लोब कलेज परिसरमा यही जेठ २९ गते सोमबारदेखि जारी ‘१२औँ व्यापार मेला’ आज शुक्रबार सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको उक्त व्यापार मेलामा २५ भन्दा धेरै स्टल राखिएको थियो ।

ती स्टलहरूमा खानेकुरासहित बजारमा उत्पादन भएका सामानहरू पनि राखिएको थियो । कार्यक्रमका लागि कलेजले विद्यार्थीहरूलाई आर्थिक ऋण उपलब्ध गराउँछ र सो ऋणबाटै विद्यार्थीहरूले आफ्नो व्यापार सुरु गर्छन् । यस कार्यक्रमबाट विद्यार्थीहरूले आफ्नो उद्यमी क्षमता विकास गर्नुका साथसाथै उनीहरूलाई व्यापारको वास्तविक महत्त्व सिकाउने मुख्य लक्ष्य लिएको छ ।

यसैगरी, उक्त कार्यक्रमबाट विद्यार्थीहरूले व्यवसायका लागि चाहिने बिजनेस प्रपोजल कसरी बनाउने, ऋण कसरी लिनेदेखि ब्यालेन्स सिट, मार्केटिङ, म्यानेजमेन्ट नेटवर्किङका बारेमा विस्तृत रूपमा बुझ्ने अवसर पाउनेछन् । यहाँ सिकेका कुरा आफ्नो व्यापार व्यवसायमा समेत लगाउनेछन् र कतिपय विद्यार्थीहरूले त्यो बिजनेस आइडियालाई नै अगाडि बडाउने लक्ष्य लिएका छन् ।

यस कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी, स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति भएको थियो र यस कार्यक्रममा ५ हजार जनाले अवलोकन गर्नुभएको थियो ।