Breaking

माओवादीसहितको समाजवादी मोर्चा असार ५ गते घोषणा गर्ने निर्णय


काठमाडौँ – सत्तारूढ नेकपा माओवादी केन्द्रसहितका दल मिलेर यही असार ५ गते समाजवादी मोर्चा घोषणा गरिने भएको छ ।

आज बिहान बालुवाटारमा भएको चार दलका शीर्ष नेताबीचको छलफलले मोर्चा घोषणाको मिति तय गरेको हो । आज बिहान बालुवाटारमा भएको छलफलमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव सहभागी भएका थिए ।

समाजवादी मोर्चामा डा‍‍. बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको संयोजकत्वमा रहेको राष्ट्रिय एकता अभियानसमेत ६ दल समेट्ने तयारी रहे पनि आजको छलफलमा भने बाबुराम र वामदेव सहभागी भएनन् ।

तर यसअघि स्थानीय तहसम्म संयन्त्र बनाउनेगरी ६ दलको संयुक्त मोर्चा घोषणा गर्ने बताइएको छ। प्रगतिशील र समाजवादी शक्तिहरुको गठबन्धनलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ ।

मोर्चाको १५ बुँदे नीतिगत प्रतिबद्धतामा दलहरु सहमत भएपछि यसको घोषणा गर्न लागिएको हो । माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिस्ट पार्टी मोर्चा बनाउन तयार भइसकेका छन् । वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियान नेपाललाई समेत मोर्चामा समेट्ने प्रयास भइरहेको छ ।