Breaking

बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण


काठमाडौँ — सङ्खुवासभाको हेवाखोलामा गएराति आएको बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराइएको छ ।

सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर सङ्खुवासभामा भएको क्षतिबारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो ।

भेटमा सांसद खड्काले सङ्खुवासभामा आएको बाढीले दर्जनौँ जलविद्युत गृहमा क्षति पुग्दा राज्यलाई अर्बौंको क्षति हुनुका साथै जलविद्युत गृहमा कार्यरत मजदुरसमेत बेपत्ता भएको प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए । साथै उनले क्षतिको निरीक्षण गरी उद्धार र राहतका लागि सरकारबाट पहल गर्न आग्रह गरेका छन् ।

भेटमा प्रधानमन्त्री दाहालले बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बेपत्ता भएकाको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र कर्मचारीलाई निर्देशनसमेत दिइसकेको जनाए । बाढीले पुर्‍याएको क्षतिबारे अवलोकनमा जाने प्रधानमन्त्रीले जानकारी दिएको सांसद खड्काले जनाए ।

प्रतिनिधिसभा सदस्य खड्कासँगै प्रदेशसभा सदस्य राजेन्द्र कार्की र विभिन्न दलका नेताहरू प्रधानमन्त्रीलाई भेट्न आज बिहानै बालुवाटार पुगेका थिए । सङ्खुवासभाको हेवाखेलामा गएराति आएको बाढीले सात घर बगाएको छ भने सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ ।