Breaking

कोशी र गण्डकीमा आज भारी वर्षाको सम्भावना


काठमाडौँ — आज कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका एक–दुई स्थान बाहेक अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार गत २४ घण्टामा कोशी प्रदेशको ताप्लेजुङमा भारी वर्षा भएको छ । जुन १४ तारिखमा नेपाल भित्रिएको मनसुन अहिले कोशी प्रदेशमा बढी सक्रिय छ । त्यसैले त्यहाँको वर्षा, बाढी र पहिरोले मानवीय क्षतिसमेत पुर्याएको छ । ताप्लेजुङको सिदिङ्वा–६ मेहेलेमा एकै परिवारका तीनसहित चार जना पहिरोमा परी बेपत्ता भएका छन् । सडक, पुल लगायतका संरचनामा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ताप्लेजुङको आकाश बादलले आज बिहान पनि पूरै ढाकेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको थियो । महाशाखाका अनुसार पाँचथरको फिदिममा गत १२ घण्टामा ४१.८ मिलिमिटर र तेह्रथुममा ३१.४ मिलिमिटर वर्षा भएको रेकर्ड छ । पाँचथरमा पनि पाँच जना बेपत्ता छन् भने केही घर बगेका छन् ।

आज पनि कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी कोशी प्रदेशकै तराईका भूभागका साथै देशका अन्य पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी, मधेश र बागमती प्रदेशमा मनसुन एक्टिभ हुँदा पश्चिमतिर भने मनसुनी प्रणाली विस्तारै सर्ने क्रममा छ । पानी पार्ने मनसुनी प्रणाली दुई–चार दिनपछि पश्चिमतिर सर्ने सम्भावना छ । लुम्बिनी प्रदेशको विशेष गरी पश्चिमी भूभाग र सुदूरपश्चिम प्रदेशको तराईका भूभागहरुमा आज तापक्रम घट्ने देखिन्छ । तर लुम्बिनीको पूर्वी भागमा भने तापक्रम यथावत नै रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।