Breaking

भुटानी शरणार्थी प्रकरणः १६ जनालाई थुनामा पठाउने आदेश


काठमाडौँ — भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ ।

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जना पक्राउ परेका थिए । १८ जना प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा रिहा गर्ने भन्ने प्रयोजनका लागि भएको थुनछेक बहसमा २ लक्ष्मी महर्जन र टंक राईलाई धरौटीमा रिहा गर्ने आदेश भएको हो ।

लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको हो । टोपबहादुर रायमाझी, बालकृष्ण खाणसहित अन्य १६ जना प्रतिवादी भने पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालतमा ११ दिनसम्म लगातार थुनछेक बहस भएको थियो । सो मुद्दामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेसहित १८ जना पक्राउ परेका थिए । कुल ३० जनाविरुद्ध मुद्दा चलाइएकामा १२ जना अझै फरार छन् ।