Breaking

भोजपुरमा खोलाले बगाएर सब इन्जिनियरको निधन


काठमाडौँ – भोजपुरमा खोलाले बगाउँदा एकजना सब–इन्जिनियरको निधन भएको छ ।

टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कस्थित राउते खोलाले बगाउँदा ३२ वर्षीय सव–इन्जिनियर मन्दिप राईको निधन भएको थियो ।

पुल निर्माणस्थलमा अचानक बाढी आउँदा सब-इन्जिनियर राईले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बर्षाका बेला मात्रै उर्लिने राउते खोलामा पुल निर्माण लगाइएको स्काभेटर र पुलको जगसमेत बगाउन थालेपछि जोगाउ खटिएका उनी बाढीमा परेका थिए ।

एक्स्काभेटर चालक सम्राट् केसी तत्काल हाम फालेर सुरक्षित स्थानमा गएका थिए । राई भने हाम फाल्न नसके पछि खोलामा बगेको केसीको भनाइ छ।

घटना लगतै प्रहरी चौकी पान्धारे र कोटबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजी गरी उनलाई बिहीबार बिहान साढे ६ बजे मृत अवस्थामा बाढीले बगाएको ठाउँभन्दा तीन किलोमिटर तल आधा पुरिएको अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याउने तयारी भइरहेको समेत प्रहरीले जनाएको छ ।

प्रिय र परिचित युवा इन्जिनियरको निधनले जिल्लाबासी शोकमा डुबेका छन् । मन्दीपको निधनमा दलका नेतादेखि सर्वसाधारणसमेतले शोक व्यक्त गरिरहेका छन् । उनी यसअघि भोजपुरकै षडानन्द नगरपालिकामा कार्यरत रहेर केही वर्षअघिदेखि टेम्केमैयुङ गाउँपालिकामा सरुवा भएका थिए।