काठमाडौँ — एसीसी इमर्जिङ टिम्स कपमा नेपालले आज भारत ‘ए’ सँग दोस्रो खेल खेल्दैछ ।
अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न नेपालाई जितको खाँचो छ । हङकङको मिसन रोड ग्राउन्डमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेपछि सुरु हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ विरुद्ध जित नजिक पुगेर पनि बिमुख भएको थियो ।
कसिलो बलिङ गरेपछि नेपालले पाकिस्तानलाई ८७ रनमा अलआउट गरेको थियो । तर, ब्याटिङतर्फ फितलो प्रदर्शन रहँदा नेपाल ९ रनले पराजित भएको हो ।
पहिलो खेल हारेपछि नेपाल जित्नै पर्ने दबाबमा हुनेछ । भारत लगातार दोस्रो जितको खोजीमा छ। भारत ‘ए’ को कप्तानी १९ वर्षीय स्वेता सेरावतले गर्नेछन् । भारतका लागि उमेर समूहका खेल खेलिसकेकी उनी पहिलो पटक भारत ए को कप्तानी सम्हाल्दै हङकङ पुगेकी हुन् ।
भारतले पहिलो खेलमा आयोजक हङकङलाई ३४ रनमा अलआउट गर्दै ९ विकेटको फराकिलो जित हात पारेको थियो । नेपाल रहेको समूहमा पाकिस्तान र भारतका ए टिम र आयोजक हङकङ समावेश छन् । नेपाल र हङकङ अहिलेसम्म जितविहीन रहँदा भारत र पाकिस्तानको ए टिमको दुई–दुई अंक छ । नेपालले असार ५ गते घरेलु टिमसँग अन्तिम खेल खेल्ने छ ।
प्रतिक्रिया