Breaking

समाजवादी मोर्चा गठन गरी नयाँ नेकपा बनाउँछौँ: प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ — प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू समाजवादी क्रान्तिको तयारीमा लागेको बताएका छन् । त्यसका लागि समाजवादी मोर्चा गठन गरी फेरि नयाँ नेकपा बनाउनेसम्मको प्रयास हुने भइरहेको पनि बताए । बुधबार माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरी पहलकदमी लिइएको बताएका हुन् ।

कार्यक्रममा उनले भने, समाजवादी क्रान्ति सिधा र सरल हुँदैन । यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ । विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ । त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ। साथै उनले समाजवादी क्रान्तिको बाटो सरल र सिधा रेखामा नहिँड्ने हुनाले सजिलो पनि नभएको प्रष्ट पारे ।

नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो आत्मसमर्पण र विसर्जनको बाटो थिएन। समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो। त्यसका लागि उक्त एकता गरिएको थियो’ प्रधानमन्त्री प्रचण्डले भने ।