Breaking

सदनमै गाईजात्रा, नयाँको नौटंकी, जे पनि बोल्छन् सांसद, सभामुखलाई हम्मे हम्मे, गैरसंसदीय हर्कत कसरी होला नियन्त्रण ?


काठमाडौँ — संसदमा जारी विषयगत छलफलमा विषयगत तर्क र तथ्यसहितको बहस भन्दा होहल्ला केन्द्रीत बनेको संसदीय रवैयाले यस्तै सन्देश दिईरहेको छ । जसका कारण जनजीविकासँग जोडिएका महत्वपूर्ण विषयहरु ओझेलमा त परेका छन नै संसदको महत्वपूर्ण समय समेत खेर गईरहेको छ । प्रतिनिधिसभा कानून, नीति नियम र विधिको शासनवारे छलफल हुने महत्वपूर्ण थलो हो । त्यसैले सदन र सांसद दुवै नियमसंगत चल्नुको विकल्प छैन ।

सांसदहरु आफैले प्रतिनिधिसभा नियमावली बनाएका छन । जहाँ सांसदहरुले पालना गर्नुपर्ने नियम, विधि पद्धतिको लामै फेहरिस्त छ । तर हाम्रा सांसदहरु आफैले बनाएको नियम पालना गर्दैनन् अथवा बुझ्दैनन् । संसदीय मर्यादाको अलिकति पनि ख्यालै नगरी बोल्न समय नपाएको झोकमा कोहि सदनमै अर्धनग्न बन्छन त कोही मुखमा जे आयो त्यहि बोल्छन् । आफ्नो विषय उठान गर्दा, प्रश्न गर्दा सामान्य मर्यादा, संसदीय भाषको समेत ज्ञान राख्दैन्न ।

एकले अर्कालाई होच्याउन, दोहोरो र नीच अर्थ दिने सामाजिक रूपमा अपाच्य शब्दहरुको वर्षात संसद बैठकमा बढ्दो छ । पछिल्लो समय सदनमा सांसदहरुको अभिव्यक्तिहरू रेकर्डबाट हटाउने शृङखलाले पनि स्पष्ट पार्छ । जब जब सदन सञ्चालन हुन्छ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सांसदहरुलाई संसदीय नियमावलीवारे ध्यानकर्षण गराउन बाध्य हुन्छन । संसदीय नियमावली, धारा र नियम नपढाएको दिन सायदै कम छ । एकाध वैठक वाहेक अधिकांश संसदीय वैठकमा सांसदहरुलाई नियम पालना गराउन र वैठकको मर्यादा सम्झाउन थाल्छन् । अमार्यदित शब्द हटाउन निर्देशन दिने दैनिकी जस्तै बनेको छ ।

सभामुख मात्र होइन संसद संञ्चालनका बेला सांसदहरु पनि चिच्याई चिच्याई मर्यादित शब्द प्रयोग गर्न नियमावली नै हेरेर एकले अर्कालाई सिकाउन उदत्त छन । असंसदीय शब्द रेकर्डबाट हटाईयोस् नभनेको कमै वैठक छन् । सत्तापक्ष र प्रतिपक्षका सांसदहरु एकले अर्कालाई दोषारोपण गर्दै सदनमै एक सांसदले अर्का सांसदलाई नियमावली पढाउने , सम्झाउने दृश्य सामान्य बन्न थालेको छ ।

दलीय व्यवस्थामा सदनमा सांसदहरुले उठान गर्ने विषय दलको विषय पनि हो । तर सदनमा दलभन्दा व्यक्ति हावी छ । संसदीय मर्यादा, दलगत नीति नियम सबै भुलेर बोल्नकै लागि बोल्छन् । सस्तो लोकप्रियताकै लागि भए पनि सांसदहरु उछालिँदै विषयहरुको विषयान्तर गर्न उद्दत देखिन्छन् । सांसदले प्रयोग गरेका शब्द र गतिविधिले सदन मर्यादित बन्न सकिरहेको छैन भने उनीहरुले कानुनी प्रावधानको गहन अध्ययन गर्नुपर्ने देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् । ।

संसदमा जारी विषयगत छलफलमा विषयगत तर्क र तथ्यसहितको बहस भन्दा होहल्ला केन्द्रीत हुँदा जनजीविकाका विषयहरु ओझेलमा पर्ने गरेको छ । संसदमा आफै नियम कानुनको पालना गर्न नसक्ने सांसदहरुबाट आम जनताले कस्तो खालको अपेक्षा राख्ने हो सोचनिय विषय बनेको छ ।