Breaking

बालकृष्ण खाँणको प्रतिरक्षामा थुनछेक बहस सुरू


काठमाडौँ – नक्कली शरणार्थीसम्बन्धी मुद्दामा पक्राउ परेका बालकृष्ण खाँणको प्रतिरक्षामा काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरू भएको छ ।

प्रतिवादीका तर्फबाट बहसका लागि छुट्याइएको समयको अन्तिम दिन मंगलबार पूर्वगृहमन्त्री खाँणका वकिलहरूले बहस सुरू गरेका हुन् । उक्त प्रकरणमा पक्राउ परेका १८ जनाका तर्फबाट वकिलहरूले गत बुधबारदेखि निरन्तर प्रतिरक्षा बहस गरिरहेका हुन् ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तमध्ये खाँणसहित अझै ६ जनाको प्रतिरक्षा बहस गर्न बाँकी छ । तर प्रतिवादीका तर्फबाट आज बहस सक्नुपर्ने समय–तालिका छ । यसपछि भोलि बुधबार सरकारी वकिलले जवाफी बहस गरेर त्यही दिन थुनछेक आदेश दिनेगरी न्यायाधीशले समय तोेकेका छन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको हो ।