Breaking

सरकार ढाल्दै माधव–बाबुराम, गठबन्धनमा भाँडभैलो हुँदा सरकार धरापमा, प्रचण्डले देखाइदिए माधवको हैसियत !


काठमाडौँ — मन्त्रालय भागबण्डादेखि असन्तुष्टि जनाउँदै आएका दलहरुले बजेट विनियोजनमाथि समेत आलोचना गरिरहेको छ । अझ प्रधानमन्त्रीकै कारण सरकार ढाल्नेसम्मको तयारी चलेपछि गठबन्धनमा थप संकट पैदा भएको छ । प्रचण्डका सबैभन्दा प्रिय पात्र हुन्, माधवकुमार नेपाल । तर पछिल्लो समय माधवको मन बुझेको छैन । प्रधानमन्त्रीको कुर्सीमा पुगेपछि प्रचण्ड फेरिएको महसुस गरेका माधव अब सरकार ढाल्ने मनसायमा छन् ।

भत्किएको नेकपाभित्र ओलीविरुद्ध मोर्चाबन्दी गर्दा प्रचण्डको साथमा माधव थिए । एमाले ब्युँतिएपछि पार्टी विभाजन गर्न माधवलाई प्रचण्ड लक्ष्मण बनेर सघाए । तर एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादीले विभाजनको औचित्यपुष्टि गर्न सकेन । आम निर्वाचनमा राष्ट्रिय दलनै बन्न असफल भएपछि प्रचण्डले माधवलाई हैसियत अनुसारको महत्व दिइरहेका छन् । पुसमा १० मा पाँच दलीय गठबन्धन भत्काएर बालकोट गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बन्दा माधव बेखबर बनेका थिए । उनको असन्तुष्टिकै बीच एमालेसँग प्रचण्ड मिल्न गए पनि माधवले महत्व दिइरहे ।

तर फागुन १२ मा एमाले नेतृत्वको बालकोट गठबन्धन भत्किएर प्रचण्ड पुरानै कित्तामा फर्किएपछि माधवमा भरोशा बढेको थियो । तर मन्त्रालय भागबण्डादेखि सरकार विस्तार र भारत भ्रमणदेखि बजेटसम्मका विषयमा छलफल गर्दा माधवहरु उपेक्षामा परेका छन् । फलतः प्रचण्डको निरन्तर हेलामा परेको भन्दै माधवले सरकारमा सम्भावित दुर्घटनाको घण्टी बजाएका छन् ।

माधव जस्तै बेखुश प्रचण्डका खातिर आफ्नै निर्वाचन छोडेका बाबुराम भट्टराई पनि छन् ।निरन्तर सरकारका काममाथि निगरानी गरिरहेका उनी समर्थनभन्दा धेरै आलोचना ओकल्छन् । भारत भ्रमणका क्रममा प्रचण्डले गेरुबस्त्र नै धारण गरेपनि नेपालमा बाबुरामले आलोचना गरेका थिए । प्रचण्डको राजनीतिक रुपान्तरणबाट वाक्क भएर पार्टी छोडेका बाबुराम पछिल्लो समय सांस्कृतिक रुपान्तरणले पनि सन्तुष्ट छैनन् ।

लोक रिज्याँईकै लागि दौरा सुरुवालदेखि पशुपतिको चन्दन निधारमा दलेको विषयमाथि बाबुरामले खरो आलोचना गरेका छन् । अझ अघि बढेर बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रचण्डबाट धोका भएको निष्कर्ष निकालेको छ । हिजोको सहमति अनुसार प्रचण्डले सरकार र पार्टीको नेतृत्व गर्ने र बाबुरामले वैचारिक काम गर्दै नेकपा समाजवादी बनाउन कुरा अहिले प्रचण्डकै कारण ओझेलमा परेको निचोड नेसपाको छ । कतिसम्म भने, हिजोको माओवादी एक हुँदा बाबुरामले आफ्नो शक्ति हातमा लिने डर प्रचण्डमा पलाएर एकताप्रति अनिच्छुक भएको दाबी नेसपाले गरेको छ ।

जसले पनि गठबन्धनलाई एकमत हुन दिएको छैन । प्रचण्डप्रति जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसमेत सन्तुष्ट छैनन् । उपनिर्वाचन जितेर आएर आएपछि उपप्रधानसहित सरकारमा सहभागिता खोजिरहेका उपेन्द्रको व्यवस्थापनमा प्रचण्डको रुची छैन । तथापी यसलाई माधव र बाबुराम जस्ता शक्तिहिनहरुलाई प्रचण्डले हैसियत अनुसारको व्यवहार गरेको विश्लेषण विज्ञहरु गर्छन् ।

गठबन्धनभित्रका प्रिय सहयात्री भड्किँदा पनि सत्ता घटकको नेतृत्व गरेका प्रचण्ड–देउवा छलफलमा बस्न तयार छैनन् । मुख्यतः संसदको ध्यान बजेटमाथि केन्द्रीत बनेका बेला देउवा, प्रचण्ड र अर्थमन्त्री महतकै जिल्लामा मात्र आधा बजेट खन्याएको विषयले गठबन्धनभित्र विभाजनको खैलाबैला ल्याएको छ । तथापी माधवको आलोचनालाई एमालेमा ७० बर्षे उमेरहद हटेपछिको आकर्षणका रुपमा पनि बुझिएको छ ।तर आजसम्म प्रचण्डकै फाइदामा चलेका माधव–बाबुरामको संकेत सत्ता गठबन्धनका लागि शंकास्पद बनेको छ ।