Breaking

दलहरुको ‘मिसन–८४’ सुरु, एकल बहुमत ल्याउने नयाँको सपना, रवि, बालेन परास्त गर्ने पुरानाको दाउ


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले मिसन २०८४ सुरु गरिसकेको छ । अर्थात २०८४ मा हुने संसदीय चुनावमा आफ्नो नेतृत्वमा एकल बहुमतको सरकार गठन गर्ने रवि लामिछानेको सपना छ । उसो त नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीले पनि एकल बहुमत र प्रधानमन्त्री बन्ने सपना नदेखेका होइनन् । तर, पुराना राजनीतिक शक्तिहरुले भने रास्वपा, नागरिक उन्मुक्ति, जनमतलगायत राजनीतिक शक्तिहरुको पुर्नउदय भएको देख्न चाहँदैनन् । उनीहरुले अहिलेका नयाँ राजनीतिक शक्तिलाई जसरी पनि परास्त गर्न चाहन्छन् ।

गएको मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोचेभन्दा राम्रो नतिजा ल्याउन सफल भए । वैशाखको उपचुनावले त झनै नयाँ राजनीतिक शक्तिमाथि जनताको ठूलो आशा देखियो, रास्वपाले २ वटा निर्वाचन क्षेत्रमा उपचुनाव जित्यो । मंसिरको चुनाव र वैशाखको उपचुनावले हौसिएका रास्वपा सभापति रवि लामिछाने २०८४ सालको संसदीय चुनावमा जुनकुनै हालतमा आवश्यक बहुमत ल्याउने र एकल नेतृत्वको सरकार बनाउने उद्घोषसहित अघि बढिरहेका छन् । तर, मिसन २०८४ बोकेर अघि बढिरहेका रास्वपा सभापति लामिछानेले २०८४ को सबैखाले चुनावमा विजयी हाँसिल गर्ने अवस्था देखिएपछि आफूहरुमाथि घेराबन्दी हुन थालेको अभिव्यक्ति दिन थालेका छन् ।

रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिएको दाबी गर्ने लामिछाने अहिले भने विभिन्न ठाउँबाट अन्य दलहरुले घेराबन्दी गरिरहेको बताउन थालेका हुन् । दलहरुको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने उनको तर्क छ । उसो त, राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै होइन, नागरिक उन्मुक्ति पार्टीले समेत मिसन २०८४ अभियान घोषणा गरिसकेको छ । २०८४ सालमा एकल बहुमत ल्याएर आफ्नो एकल नेतृत्वको सरकार गठन गर्ने केही दिनअघि मात्रै जेलमुक्त भएका रेशम चौधरीले सपना देखेका छन् ।

उसो त नयाँ राजनीतिक शक्तिहरुलाई पुराना राजनीतिक शक्तिहरुले खहरेको भेल भनेर टिप्पणी गर्ने गरेका छन् । रास्वपा, नागरिक उन्मुक्ति पार्टीलगायतले पाएको अहिलेको भोट दिगो भोटको रुपमा उनीहरुले लिन चाहिरहेका छैनन् । उनीहरु भन्छन्, ‘यो आक्रोशको भोट हो, यसमा कुनै स्थायित्व छैन ।’ नयाँ राजनीतिक शक्तिहरुको उदयसँगै अब सक्किने कि सक्किने ? भन्ने बहसभित्र सामेल भएका उनीहरु नयाँ राजनीतिक शक्तिहरुबाट देशको स्थायित्व र समृद्धि सम्भव नरहेको बताउँछन् ।

नयाँहरुको प्रभावले आफूहरुलाई केही घाटा भएको तर सक्किएको वा बडारिएको भन्ने नरहेको पुराना राजनीतिक दलहरुको तर्क छ । कमी कमजोरीलाई सच्याएर सहि एजेण्डालाई आत्मसाथ गरेर नयाँ राजनीतिक शक्तिलाई परास्त गर्न आफूहरु सक्षम रहेको नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई बताउँछन् । पुराना राजनीतिक शक्तिहरुले जनजिवीकाका सवाल उठान गर्न नसकेको भन्ने असन्तुष्टिकाबीच नयाँ राजनीतिक शक्तिहरु जन्मिएका हुन् ।

उनीहरुले सोचेभन्दा राम्रो चुनावी नतिजा पनि ल्याए । तर, मिसन २०८४ नै सुरु गरेका राजनीतिक दलहरुलाई जसरी पनि परास्त गर्ने पुराना दलका नेताहरु भन्न थालेका छन् । यसबीचमा नयाँ राजनीतिक शक्तिका नेताहरुले पनि आफूमाथि घेराबन्दी हुन थालेको बताउन थालेका छन् । हरेक निर्वाचनमा नयाँ राजनीतिक शक्तिको उदय हुँदै आएकोमा उनीहरुले पनि भनेजस्तो काम गर्न नसकेको र अर्को चुनावसम्ममा अर्कै राजनीतिक शक्तिको जन्म हुने गरेको छ । ५ वर्षपछिको संसदीय चुनावमा सच्चिनुपर्नेहरु सच्चिएर पुरानो विरासत जोगाउन सफल बन्लान् या फेरि नयाँको खोजी गर्नुपर्ने हो, नेताहरुको कार्यशैलीले बताउँदै जाने कुरा हो ।