Breaking

अमर्यादित शब्द रेकर्डबाट ‘डिलिट’ गर्नु औपचारिकता मात्र, सांसदले सिक्न सकेनन् पाठ, नयाँ पुराना उस्तै


कुनै सांसदले सदनमा बोलेको शब्द असंसदीय भए त्यसलाई संसदीय अभिलेखबाट हटाउने प्रचलन छ । तर, त्यस्ता उच्छृङ्खल, उत्ताउला, अमर्यादित शब्द संसद्को रेकर्डबाट हटे पनि औपचारिकताममा मात्रै सीमित हुँदै आएको छ । प्रतिनिधिसभा बैठकमा सांसदले असंसदीय शब्द प्रयोग गर्ने र सभामुखले त्यसलाई रेकर्डबाट हटाउने क्रम निरन्तर भईरहेको छ । प्रतिनिधिसभा नियमावली २०७९ परिच्छेद ४ को दफा २१ को खण्ड ‘घ’ मा सांसदहरुलाई आफ्नो अभिव्यक्ति राख्दा अमर्यादित हुँदै असंसदीय भाषाको प्रयोग गर्न वञ्चित गरिएको छ ।

उक्त नियममा अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक, शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति,जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अन्य कुनै किसिमले असरपर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने भन्ने उल्लेख छ । तर, संसद्मा निरन्तर सांसदहरुबाट यो दफा उल्लंघन भईरहेको छ ।

सांसदले अमर्यादित शब्द बोलेर मात्रै होइन, सांसदहरुले विभिन्न काण्डमाथि कुरा उठाउँदासमेत सभामुखले त्यसलाई रेकर्डबाट हटाउने नजिर बसालेका छन् । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको पालामा जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको विषय उठाउँदा एमालेले त्यसलाई अमर्यादित शब्द भन्यो । अन्ततः प्रधानमन्मत्रीले नै सम्बोधन गर्दै सभामुखले त्यो आरोपलाई रेकर्डबाट हटाएपछि संसद बैठक सुचारु भयो ।

सदस्यहरुको बोलेका शब्दहरुलाई संसदीय रेकर्डबाट हटाईएपनि त्यो आम जनताको मानसपटलबाट भने हटाउन सकिँदैन । रेकर्डबाट ‘डिलिट’ गर्नु र नगर्नुको खासै अर्थ देखिँदैन । किनभनेबोल्नेले बोलिसके, मिडियामा आउने आईसक्यो । संसद्को आर्काइभबाट हटे पनि विभिन्न सञ्चार माध्यममा अझै पनि रेकर्डबाट हटाईसकेका शब्द वा अभिव्यक्तिहरु छ्याप्छ्याप्ती पाईन्छ नै । लामो संसदीय अभ्यास गरेको देशमा तुलनात्मक रुपमा यो संसद् सबैभन्दा बढी अमर्यादित बनेको छ ।

को नयाँ को पुराना भर्खरै ताजा जनादेशबाट बनेको संसद्मा अचाक्ली अमर्यादित शब्दको प्रयोग हुन थालेको छ । सदन अमर्यादित र उच्छृंखल भएको अनुभूति गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा सांसद् रवि लामिछानेले आत्मआलोचना गर्दै माफी नै मागेका छन् ।

जेठ महिनामात्रै ५ सांसदका अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन निर्देशन दिइसकेको छ । एमाले सांसद दयालबहादुर शाही, माओवादीका लेखनाथ दाहाल, रास्वपाका शिशिर खनाल र सुनिल शर्माले बोलेका शब्दहरु संसदीय अभिलेखबाट डिलिट गर्न सभामुखले निर्देशन दिए ।

यस्तै कांग्रेस सांसद विनोद चौधरीले बोलेको महिला लक्षित उखान टुक्का पनि रेकर्डबाट हट्यो । तर, संसदीय सचिवालयबाट उच्छृङ्खल, उत्ताउला, अमर्यादित र असंसदीय शब्दहरु हटाउनु नियमजस्तै बन्दा पनिसांसदहरुले त्यसबाट पाठ सिकेको पाइँदैन । मर्यादित हुनुपर्ने सांसद् नै अमार्यदित बनेका छन् । विभिन्न कालखण्डमा गरेर झण्डै तीन दशक संसदीय अभ्यास गरेको नेपालमा बढी अमर्यादित शब्दहरु प्रयोग हुँदा रेकर्टबाटै हटाउन रुलिङ गर्नुपर्ने घटनाक्रम रोकिएको छैन ।