देश

पानी नपर्दा खेतीयोग्य जमीन चिरा, ब्याडमै सुक्न थाल्यो धानको बीउ, सरकार र प्रकृतिको मारमा कृषक


काठमाडौँ — धान, मकै जस्ता नगदेबाली लगाउने यो बेला अझै पानी पर्न सकेको छैन । समयमा नै वर्षा नहुँदा खेती गर्न कठिनाइ हुन थालेपछि देशैभरका कृषक चिन्तित बनेका छन् । लामो समयदेखि वर्षा नहुँदा देशैभरको जनजीवन प्रभावित भएको छ । तराईमा ‘लू’का कारण विद्यालयहरु बन्द नै गर्नु परेको छ भने, पहाडी भूभागमा पनि गर्मीका कारण बाहिर निस्कन सक्ने अवस्था छैन । चर्काे गर्मीसँगै वर्षायाममा पनि पानी नपर्दा विशेष गरि कृषि क्षेत्रमा पनि ठूलो असर गरेको छ ।

धान, मकै जस्ता नगदेबाली हुने यो यसमा आकाशे पानीकै भर पर्नु पर्दा कृषकहरु मर्कामा परेका छन् । बीउ राखेकै ब्याडमा धान डढेको छ भने, पानी नपर्दा मकै रोपेको जमीन फाटेको छ । कृषिबाटै जिवन धान्ने कृषकहरुलाई खडेरीले गर्दा खेती लगाउनै समस्या भएको छ ।

सामान्य वर्षा नहुँदा र सुक्खा बारी तथा खेतमा बाली छर्न पर्दा बिरुवा उम्रन नै कठिन हुने र परिश्रम मात्र खेर जाने कृषकको गुनासो छ । एक त बीउ, मल जस्ता कृषि उपभोग्य सामग्री समयमा पाउनै मुश्किल छ त्यसमाथि बाली राम्रो बनाउन आकाशे पानीकै भर पर्नु पर्दा बिरुवा खेतमा नै सुक्न थालेपछि उनीहरु निक्कै चिन्तित छन् ।

माटोलाई नै आफ्नो जिउने आधार बनाएका कृषक बालीमा पर्याप्त पानी नहुँदा अन्नपात उब्जनीमा ह्रास आउने हुँदा मर्कामा छन् । कृषकहरुले आफैलाई पुग्ने अन्न पनि उत्पादन गर्न नसक्नदा भोकमरीको अवस्था सिर्जना हुन सक्ने डर बढेको छ । लामो समय खडेरी पर्दा खोला, कुलोमा पनि पानी सुकेका कारण पानी तानेरै खेती गर्दै आएका किसानहरु यसपटक भने त्यसबाट पनि बञ्चित बनेका छन् । विगत वर्षहरुमा यही समयमा धान रोप्न सुरु गरिसक्ने भए पनि यस वर्ष भने धान अझै ब्याडमा नै रहेको कृषकको गुनासो छ ।