काठमाडौँ — गर्मी बढेसँगै देशका धेरैजसो ठाउँको जनजीवन प्रभावित भएको छ । देशभरको तापक्रम बढेसँगै कुवा तथा ईनारहरु सुकेर खानेपानीको समस्या देखिन थालेको छ ।तातो हावा तथा लू का कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्नेलगायत स्वास्थ्य समस्या देखिन थालेको छ । यसबारे सरकारको तत्कालिन र दिर्घकालिन समाधानबारे प्रतिनिधिसभा बैठकमा सांसदहरुले प्रश्न उठाएका छन् ।
तराइका भूभागहरूमा तापक्रम केही दिन नघट्ने देखिन्छ । जसका कारण तातो हावा (लू) चलिरहेको छ भने स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको छ। तराई क्षेत्र मात्रै नभई काठमाडौं उपत्यकासहित देशका अधिकांश भुभागको तापक्रम बढ्दा वायु प्रदुशणसमेत बढिरहेको छ । यसबारे प्रतिनिधिसभा बैठकमासमेत प्रवेश पाएको छ । बैठकको सून्य समयमा बोल्दै सांसद निर्मला कोइरालाले तराई क्षेत्रका मानिसहरु धमाधम विरामी पर्न थालेको र खानेपानी र विद्युतकोसमेत समस्या हुन थालेकोबारे ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिनिधिसभा पछिल्ला दिन तापक्रम बढेर ४४ डिग्री सेल्सियससम्म पुगेको छ । विश्वका विभिन्न देशसहित नेपालमा पनि तापक्रम बढेको हो । अझै एक हप्ता तापक्रम घट्ने अवस्था नरहेको मौसमविद्हरुको भनाई छ । तापक्रम बढेसँगै तराईका क्षेत्रहरुमा तातो हावा (लु) चलिरहेको छ भने विद्यालय बन्द हुन थालेका छन् । पानीको मुहान सुकेर खानेपानीको हाहाकार मच्चिएको छ भने जमिनमुनीको पानीको सतहसमेत घटेको छ । यसबारे नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारको ध्यानाकर्षण गराएका छन् । उनले यसको तत्कालिन र दिर्घकालीन समस्याबारे सरकारले के गरिरहेको छ ? भनेर प्रश्न गरेका छन् ।
देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत रहने देखिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा तापक्रम क्रमिकरुपमा बढ्ने देखिन्छ ।
काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामासमेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउन विज्ञहरुले सुझाव दिएका छन् ।
प्रतिक्रिया