Breaking

गठबन्धनबाट एक्लिए प्रचण्ड, माधवले समेत साथ छोडे, देउवाको चलाखीले गठबन्धनकै घेराबन्दीमा


काठमाडौँ — सत्ताधारी गठबन्धन पछिल्लो समय निष्क्रिय जस्तैछ । प्रधानमन्त्रीको भारत भ्रमण र उपलब्धीबारे पनि गठबन्धन मौन छ । बरु बजेट निर्माणदेखि सरकारका निर्णयसम्म फरक स्वर आइरहेका छन् । गठबन्धनभित्र आफूलाई सुत्राधार मान्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेता माधवकुमार नेपाल हिजोआज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिड्ढिएको भावमा देखिन्छन् । दिनहुँ प्रचण्डकै प्रलाप ओकल्ने माधव फेरिएपछि गठबन्धन फेरबदलको शंका पैदा हुन थालेको छ ।

संसदभित्र एमाले, रास्वपा र राप्रपाको मोर्चाबन्दीले हायलकायल प्रधानमन्त्री गठबन्धनभित्रको घेराबन्दीले थप दबाबमा छन् । जसको झल्को बुधबार माधवले गरेको शंकाले समेत प्रकट भएको छ । बजेट विनियोजनदेखि भारत भ्रमणसम्मका विषयमा गठबन्धनभित्र सरसल्लाह नभएको गुनासो माधवले गरेका छन् ।

संसदमा प्रतिपक्ष खरो चर्किदा प्रधानमन्त्रीको बचाउमा बोल्दिने अर्काे नेता भेटिएका छैनन् । सोमबार प्रतिपक्षले भारत भ्रमणका विषयमा प्रधानमन्त्रीलाई ¥याख¥याख्ती पार्दा प्रतिवादमा बालिदिने गतिलो सांसद थिएन । जबकि गठबन्धनभित्र अहिले पनि दश दल सामेल छन् ।कुनैबेला कुर्सी फोड्ने ताकत देखाएका माओवादीकै जनार्दन शर्मा प्रचण्डका लागि बोलिदिने रुचीमा छैनन् । फलतः मुर्रा भैंसीको अनावसनाव बहसमाथि जुहारी खेलेकाप्रतिपक्षसँग प्रधानमन्त्री एक्लै भिडे । अलिकति लाज बचाइदिने काम काँग्रेसका विश्वप्रकाश शर्माले गरे ।

अरुबेला बोलेरै पीठो बिकाउने काँग्रेसका सेलिब्रेटी महामन्त्री गगन थापा पनि चुप नै छन् ।बरु उल्टै प्रश्न उठाउने काममा अघि बढेपछि गठबन्धन मत विभाजित बनेको प्रष्टै छ । गठबन्धनभित्र गठबडी उपनिर्वाचनको मतपरिणामसँगै आएको हो ।दुईस्थानमा हारेपछि अन्तरघात भएको निष्कर्ष निकालियो । एकले अर्काेलाई सहयोग नगरेको आरोपमै दलहरु सीमित बने ।असुन्तष्टीकै बीच पनि कति दल सरकारमै छन् भने कतिले गठबन्धन छोडेका छैनन् ।

उपनिर्वाचनपछि गठबन्धन लगभग निष्क्रिय जस्तो छ । नागरिकता विधेयकदेखि रेशम चौधरीलाई आम माफी दिएको विषयसम्म गठबन्धनभित्रैबाट प्रश्न उठेको छ । गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेस आफ्नै पार्टी विवादले थिलथिलो बनेको छ । यो सरकारलाई बोक्नुहुन्न भन्ने मत काँग्रेसभित्र बलियो बन्दै गएको छ । किनकि यो सरकार तलमाथि हुनेवित्तिकै काँग्रेसको हातमा सत्ता जाने सम्भावना छ । यसले नपत्याउँदो हिसावले देउवा नै सत्ता हत्याउने दाउमा त छैनन् भन्ने प्रश्न उठेको छ ।जसले मन्दमन्द विषको विस्तार गरिरहेको छ ।बरु संसदबाहिर प्रतिपक्षलाई मिलाउन सफल भएका प्रधानमन्त्री आफ्नै गठबन्धनबारे अन्योलमा देखिन्छन् ।