काठमाडौँ — अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन् । पेरिस सेन्ट जर्मेइन (पीएसजी) क्लबबाट बाहिरिएपछि मेस्सीले साउदी अरेबियाको अल–हिलालबाट आएको थप आकर्षक प्रस्ताव अस्वीकार गर्दै अमेरिकी क्लब मियामी जाने पक्का गरेका बीबीसीले जनाएको छ ।
मेस्सीले अब पहिलो पटक युरोपबाहिरको क्लबमा आबद्ध रहेर खेल्नेछन् । उनी अर्को सिजनका लागि युरोपमा रहन चाहे पनि सन्तोषजनक प्रस्तावहरू प्राप्त नभएपछि इन्टर मियामी वा अल–हिलालमात्रै विकल्प थियो । उनीसँग पहिले नै मियामीमा एउटा घर छ जुन उनले अहिले भाडामा दिएका छन् । ३५ वर्षीय फरवार्ड मेस्सीले सात पटक विश्वको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् र गएको वर्ष अजेन्टिनालाई विश्व कपको उपाधि दिलाएपछि यो वर्षको अन्त्यमा समेत अवार्ड जित्ने सम्भावना छ ।
प्रतिक्रिया