Breaking

करको दर फेरबदलबारे अर्थमन्त्रीको जवाफ, केपी ओली गाँजा खेतीको सम्भाव्यता अध्ययनको विपक्षमा !


काठमाडौँ — बजेटमाथि छलफल गर्न बसेको मंगलबारको प्रतिनिधसभा बैठकमा करको दरमा फेरबदलदेखि गाँजा खेतिको सम्भाव्यता अध्ययन गरिने विषयले प्राथमिता पाए । करको दर हेरफेरमा अनधिकृत व्यक्ति समावेश गरिएको भनेर प्रमुख प्रतिपक्षी दलहरुले एकै श्वरमा प्रश्न गर्दा अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दरमा चलखेल नभएको प्रष्टिकरण दिए । गाँजा खेती सम्भाव्यता अध्ययन गर्ने विषय सरकारको आगामी वर्षको बजेटमा समावेश भएकोमासमेत सांसदहरुले प्रश्न गरे ।

बजेटमाथि छलफल गर्न मंगलबार विहान ११ बजेका लागि बोलाईएको प्रतिनिधिसभा बैठक ३ घण्टा ढिलो गरी दिउँसो २ बजे सुरु भयो । करको दर हेरफेरबारे सरकारले स्पष्टीकरण दिनुपर्ने भन्दै प्रतिपक्षीले अड्को थापेपछि बैठक ३ घण्टासम्म बस्न नसकेको हो । यसबारे अर्थमन्त्रीले जवाफ दिने भएसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी बैठक बस्न तयार भए । सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनधिसभा बैठकको कारबाही प्रारम्भ गरेलगत्तै प्रतिपक्षी दलका सांसदहरु उठे । उनीहरुमाध्ये प्रतिपक्षी दलबाट नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्ले, र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले बोल्ने समय पाए ।

गत वर्षको बजेट निर्माणको क्रममा करको दर अवैज्ञानिक हेरफेरगरेको आरोप लगेपछि अर्थमन्त्रीले नै राजीनामा दिनुपरेको थियो । यसबारे प्रतिपक्षी दलहरुले मात्रै होइन, सत्ता पक्षकै सांसदहरुलेसमेत अर्थमन्त्री राजीनामा मागे । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई भन्सार विभागमा कसले नियुक्ति गरेको भनेर प्रश्न उठाए । जवाफमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेकै कारण आफूलाई अप्ठ्यारो पार्न खोजिएको बताए । श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको अर्थमन्त्रीले तर्क गरे । उनले बजेट निर्माण गर्दा ईमान्दारिताभन्दा बाहिर नगएकोसमेत बताएका छन् ।

मंगलबारको बैठकमा करको दर हेरफेरबारे मात्रै कुरा उठेन । सरकारले बजेटमा समावेश गरेको गाँजा खेतीको सम्भाव्यता अध्ययनमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रश्न उठाए । गाँजा खेतीको पछाडि व्यक्तिहरु रहेको र उनीहरुले वैधानिकता खोजिरहेको भन्दै उनले कतिपय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा गाँजा खेती हुँदा कतिपयको जीविकोपार्जन हुने भन्ने लागेको हुनसक्ने तर नियन्त्रित गाँजा खेतीको विषय भएको बताए । सरकारको रेखदेखमा गाँजा खेती गर्ने विषय अनौठो रहेको भन्दै उनले ‘गाँजाको बीउ लिएर बसेको व्यापारी को हो ?’ भनेर पश्न गरे ।उनले आगामि आर्थिक वर्षको बजेट सच्याउन माग गर्दै बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको दाबी गरे । सत्तारुढ दलहरुले अहंकार देखाएर बजेटमा कमा र फुलिष्टप पनि सच्याउन नचाहेमा आफूहरु त्यसलाई स्वीकार गर्न नसक्ने ओलीले बताए ।

छलफलमा सहभागी काँग्रेसका सांसद विमलेन्द्र निधीले नेपालमा सहकारी बैंक खोल्ने अनुमति दिन माग गरेका छन् ।सहकारी ऐनमा बैंक खोल्न दिने व्यवस्था उल्लेख भएपनि राष्ट्रबैंकले स्वीकृति नदिएको भन्दै बैंक खोल्ने स्वीकृति दिनुपर्ने उनले माग गरे । सहकारी बैंक खोल्न न्युनतम ५०० जना सेयर होल्डर हुनुपर्ने प्रावधान अनुरुप सहकारी विभागमा बैंक खोल्न आवेदन परेको भएपनि राष्ट्रबैंकले पूर्वस्वीकृति नदिँदा काम रोकिएको उनले बताए ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ लगायतले पनि बजेटमाथि धारणा राखेका थिए । माओवादी सांसद सापकोटाले बजेटको बचाउ गरे भने रास्वपा सांसद श्रेष्ठलेबजेटमा केही सकारात्मका विषय भएको र केही भने संसोधन गर्नुपर्ने माग गरे । बजेटमाथि बुधबार पनि छलफल हुनेछ । आगामि आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।