Breaking

नक्कली शरणार्थी प्रकरण : थुनछेक बहस तेस्रो दिनमा प्रवेश, आज पनि सरकारी वकिलकै पालो


काठमाडौँ – नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तबारे काठमाडौँ जिल्ला अदालतमा गत आइतबार सुरु थुनछेक बहस आज तेस्रो दिन पनि जारी रहनेछ ।

प्रतिवादीविरुद्ध जारी सरकारी वकिलको बहसले आज पनि निरन्तरता पाउने भएको हो । आइतबारदेखि हिजो सोमबारसम्म सरकारी वकिलहरू महेश खत्री, जनकप्रसाद घिमिरे, सीताराम अर्याल, प्रकाश घिमिरे र दिनेश भट्टराईले बहस गरिसकेका छन् ।

प्रतिवादीविरुद्ध अझै अधिवक्ताद्वय शेरबहादुर परियार र प्रकाश घिमिरेले बहस गर्न बाँकी छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको हो ।

बुधबारदेखि ६ दिन भने प्रतिवादीका तर्फबाट बहसका लागि समय छुट्याइएको छ। अर्थात् अर्को मंगलबारसम्म प्रतिवादीका वकिलले बहस गर्नेछन्। त्यसपछि बुधबार सरकारी वकिलले जवाफी बहस गरेपछि त्यही दिन न्यायाधीशले थुनछेक आदेश दिने तालिका छ ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई अमेरिका पठाउने भनी लाखौँ ठगी गरेको अभियोगमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।

जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका पीए नरेन्द्र केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सन्देश शर्मा, सागर राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, रामशरण केसी, गोविन्दकुमार चौधरी, लक्ष्मी महर्जन र हरिभक्त महर्जन छन्।

अभियोग लागेका १२ जना भने फरार छन्। नक्कली शरणार्थी प्रकरणमा जम्मा ३० जनाविरुद्ध अदालतमा अभियोग दायर गरिएको छ । उनीहरुविरुद्ध जेठ १० गते ठगी, लिखत किर्ते, राज्यविरूद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ ।