देश

रिहा भए यौन दुर्व्यवहारको आरोप लागेका मदन राई


काठमाडौँ — यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनीसँग चार लाख धरौटी मागिएको थियो। अहिले धरौटी बुझाएर छुटिसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारङले जानकारी दिए ।

खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन शुभमका संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो । खोटाङ जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख संगिता न्यौपानेका अनुसार राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।