Breaking

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधान ट्र्याकमा आयो: प्रधानमन्त्री


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानलाई ट्र्याकमा ल्याएको बताएका छन् । साथै उनले संसदको दुबै सदनले दुई पटक पास गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्दा पनि हुने नजीर बसे भोलि के हुन्छ भन्ने पनि प्रश्न गरे ।

सोमबार प्रतिनिधिसभा बैठकमा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले संसदले दोस्रो पटक पास गरेको विधेयक तत्कालीन राष्ट्रपतिले प्रमाणीकरण नगर्दा संवैधानिक व्यवस्थाको उल्लंघन भएको बताए । उनले भने, ‘इफ बट केही नभएको, अनिवार्य रुपमा गर्नुपर्ने प्रमाणीकरण नगरेर ठूलो संकटमा संविधान पुगेकै थियो । आफ्नो नेतृत्वको सरकारले मिचिएको संविधानलाई ट्याकलाई ल्याउन सबभन्दा संवैधानिक उपाय के हो भनेर खोजी गरेको प्रधानमन्त्री प्रचण्डले बताए । त्यसक्रममा राष्ट्रपतिले सिधै प्रमाणीकरण गर्नुपर्छ, संसदले फेरि अगाडि बढाउनुपर्छ भन्ने मत पनि आएको उनले बताए ।

सरकारले भने विधेयकको उद्गम स्थल सरकारले नै विधेयकको खोजी गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेको प्रधानमन्त्री प्रचण्डले बताए । ‘यो लजिकका आधारमा हामीले अनुरोध गर्‍यौं’, संसदमा मन्त्रिपरिषद्को निर्णय पढेर सुनाएका उनले भने, ‘क्याबिनेटबाट सिफारिस गरेनौं । प्रमाणीकरण गर्न अनुरोध गरेका हौं । उनले अघि भने, ‘राष्ट्रपतिलाई कसै न कसैले थाहा दिनुपर्‍यो । दुबै सदनबाट पास भएको थियो । दुई सदनबाट पारित भएर गएको दराजभित्र होला हेर्नुस् त भनेर सरकारले जानकारी गरायो ।